पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले उनकै निवासबाट गर्‍यो पक्राउ

बिजमाण्डू
२०८३ असोज ११ गते ०६:३० | Sep 27, 2026
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले उनकै निवासबाट गर्‍यो पक्राउ


काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ।

Vigo
GBIME
Tata

प्रहरीले महाराजगञ्जस्थित निवासबाट शनिबार राति उनलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गरिएको कारण खुलेको छैन।

‘काठमाडौं उपत्यका उपराध अनुसन्धानको टोलीले उनलाई पक्राउ गरेको हो। महाराजगञ्जबाट नियन्त्रणमा लिइएको हो। पक्राउ भएको हो, तर कारण थाहा छैन,’ एकजना उच्च प्रहरी अधिकृतले भने।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किए लगत्तै प्रहरीले हाइप्रोफाइल जबरालाई पक्राउ गरिनुलाई सन्देहको दृष्टिले हेरिएको छ।

प्रहरीले उजुरीको आधारमा नियन्त्रणमा लिएको भने पनि विस्तृत विवरण भने खुलाइएको छैन। अदालतबाट पक्राउ पूर्जी नलिई जरुरी पकाउ पूर्जी दिएर उनलाई समातिएको प्रहरी स्रोतले बतायो।

२०७८ फागुनमा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो। विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो।

महाभियोगसँगै उनी निलम्बनमा परेका थिए। उनीविरुद्धको महाभियोग प्रस्तावबारे संसदमा कुनै पनि छलफल नै भएन।

२०७५ पुस १८ गतेदेखि उनले न्यायालयको नेतृत्व गरेका थिए। पछि तत्कालिन निलम्बित प्रधानन्यायाधीश जबराले आफूलाई सरकारले नै घरभित्र नजरबन्द जस्तै बनाएको आरोप लगाएका थिए।

२०७९ असोजमा प्रतिनिधिसभाबाट आफूमाथि लागेको महाअभियोग निष्कृय भएको भन्दै उनले सर्वोच्च अदालत जान प्रयास गरेका थिए। त्यसपछि आफूलाई घरभित्र नै नजरबन्द जस्तै गरिएको आरोप उनले लगाएका थिए।

केही दिनअघि भने उनले दायर गरेको रिटमा अदालतले औचित्य समाप्त भएको भन्दै रिट नै खारेज गर्ने निर्णय गरेको थियो।