काठमाडौं। काठमाडौंमा मोटरसाइकल चोरी गरी नुवाकोट र धादिङसम्म पुर्याएर बिक्री गर्ने गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट चोरीका दुई मोटरसाइकलसहित मोटरसाइकलको लक तोड्न प्रयोग हुने औजार, मोबाइल र नगद बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७ घर भई हाल चन्द्रागिरि–१२ बस्ने २७ वर्षीय नारायण तामाङ, २२ वर्षीय आकाश तामाङ र २१ वर्षीय वेलबहादुर तामाङ छन्।
प्रहरीका अनुसार बिहीबार बिहान ७:१० बजे चन्द्रागिरि-९ मच्छेगाउँमा एउटा घरअगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको सूचना आएको थियो। प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले खोजतलास सुरु गर्यो।
खोजीका क्रममा प्रहरीले सोही दिन चन्द्रागिरि–१ गोकुलपाटीबाट दुई मोटरसाइकलसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट बा.प्र.०२–०४१ प ३९३४ र बा.प्र.०२४५ प ६७०५ नम्बरका मोटरसाइकल, बाइकको लक तोड्न प्रयोग हुने टी आकारका दुई थान औजार, दुई थान सिम, दुई थान मोबाइल र ५५ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी नुवाकोट र धादिङसम्म पुर्याएर बिक्री गर्ने गरेको पाइएको छ। चोरीका मोटरसाइकल बेचेर आउने पैसा खर्च गरेपछि फेरि चोर्न जाने गरेको पनि खुलेको छ।
प्रहरीले उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएको छ। बरामद मोटरसाइकल तथा अन्य सामग्रीको विवरण र उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











