खगेन्द्रले ‘कालो चियाको १००, दुध चियाको २००’ भनेपछि सचिवालयले भन्यो, ‘मूल्य पुरानै, महंगो छैन’

बिजमाण्डू
२०८३ असोज ७ गते २२:१३ | Sep 23, 2026
खगेन्द्रले ‘कालो चियाको १००, दुध चियाको २००’ भनेपछि सचिवालयले भन्यो, ‘मूल्य पुरानै, महंगो छैन’


काठमाडौं। संसद् सचिवालयले चमेना गृहले (क्यान्टिन) ले पुरानै मूल्यमा चिया खाजा उपलब्ध गराइरहेको जनाएको छ।

Vigo
GBIME
Tata

प्रतिनिधि सभाका सदस्य खगेन्द्र सुनारले चिया खाजा महंगो भएको भन्दै बैठकमै क्यान्टिन बन्द गर्न माग गरेपछि चिया खाजाको मूल्यबारे बहस भइरहेको छ। सचिवालयले पुरानै क्यान्टिनको मूल्य अनुसार खाजा खुवाउने सहमति अनुसार नै बिक्री भइरहेको जनाएको छ।

अघिल्लो आर्थिक वर्षको अन्तिमसम्म होटल ल्याण्डमार्कले क्यान्टिन सञ्चालन गरिरहेको थियो। सचिवालयसँग सम्झौता सकिएपछि अघिल्लो पटक टेण्डरमा सहभागी रहेको सोल्टी होटललाई तीन महिनाका लागि चिया खाजाको व्यवस्थाका लागि क्यान्टिन सञ्चालन गर्न दिएको थियो।

क्यान्टिन सञ्चालनका लागि अहिले सचिवालयले टेण्डर आह्वान गरेको छ।

‘यसअघि भएको सम्झौता बमोजिमकै मूल्यमा सम्झौतामा रहेका खाद्यवस्तु र सेवा उपलब्ध गराउने गरी सम्झौता भई चमेना गृह सेवा उपलब्ध गराइएको अवस्था रहेको छ,’ सचिवालयले चिया खाजाको मूल्यबारे भनेको छ।

संसद्को सिंहदरवारस्थित सचिवालयमा क्यान्टिन सञ्चालनमा छ। प्रतिनिधि सभाको बैठक बसिरहेको निर्माणाधीन भवनमा पनि अस्थायी क्यान्टिन सञ्चालनमा छ। सुनारले भवनमा रहेको अस्थायी क्यान्टिनको मूल्यलाई लिएर प्रश्न गरेका थिए।