काठमाडौं। नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपालका लागि भारतका राजदूत तथा निक्कीका संरक्षक नवीन श्रीवास्तवको बिदाइ गरेको छ। कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि निक्कीले श्रीवास्तवको बिदाइ गरेको हो।
कार्यक्रममा दूतावासका निवर्तमान प्रथम सचिव (वाणिज्य) सुमन शेखरको पनि बिदाइ गरिएको छ। शेखरको स्थानमा आएका ऋषभ देवको पनि निक्कीले स्वागत गरेको छ।
निक्कीका अध्यक्ष सुनिल केसीले श्रीवास्तवको कार्यकालमा भएको सहकार्यबाट महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए। केसीले राजदूतका रूपमा श्रीवास्तवले गरेको सहायता कूटनीतिक र व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाएको बताए।
आगामी वर्षमा दुई देशबिच जलविद्युत तथा ऊर्जाको क्षेत्रमा सहायता विस्तार हुने विश्वास पनि उनले व्यक्त गरे। बिदाइ कार्यक्रममा राजदूत श्रीवास्तवले नेपालमा आफ्नो कार्यकालमा पाएको सहयोगका लागि धन्यवाद दिए।
कार्यक्रममा निक्की अध्यक्ष केसीले राजदूत श्रीवास्तव, निवर्तमान प्रथम सचिव शेखरलाई मायाको चिनो प्रदान गरे।











