काठमाडौं। शुक्रबार अर्थात् असोज ९ गतेदेखि देशको विभिन्न क्षेत्रमा अति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ। शुक्रबारदेखि आइतबारसम्म हुरीबतासहित भारी र अति भारी वर्षाको पूर्वानुमानसँगै सतर्कता अपनाउन सरोकारवाला निकायहरुले आह्वान पनि गरिरहेका छन्।
केही दिनदेखि मौसमविद्हरुले अलार्म गरिरहेको यो वर्षा नेपालमा सिधै आउने भने होइन। बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’मा परिणत भएपछिको परिस्थितिलाई अहिले नेपालसँगै भारतका मौसमविद्हरुले पनि सतर्कतापूर्वक हेरिरहेका छन्।
यही प्रणाली भारतको ओडिशा र आन्ध्र प्रदेशको तटीय क्षेत्रमा पुग्दै गर्दा त्यसको प्रभाव नेपालसम्म फैलिने पूर्वानुमान गरिएको हो।
अहिले तीन दिन ठूलो पानी पर्ने भनेर सामाजिक संजालमा पोस्टहरु छ्यापछ्याप्ती भेटिन्छ। मानिसहरुमा अहिले भयको वातावरण नै सिर्जना भएको छ। मौसमविदहरुले भने आवश्यक सतर्कताका लागि आह्वान गरेका छन्। यसबारेमा आजै नेपाल मौसम विज्ञान विभागले गृहमन्त्री सुधन गुरुङ र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठलाई ब्रिफिङ पनि गरेको छ।
‘यसबारेमा आज मन्त्रीज्यूहरुलाई ब्रिफिङ पनि गरिएको छ। शुक्रबार देखि आइतबारसम्मको परिस्थितिबारे ब्रिफिङ भएको हो। भारी वर्षाको सम्भावना रहेको बारेमा हामीले जानकारी दियौं। उच्च जोखिम र जोखिम भएका स्थानमका सतर्कता अपनाउनुपर्छ भनेका छौं,’ नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्।
पोखरेलले सामाजिक संजालमा अहिले फैलिए जस्तै डराउनुपर्ने अवस्था नरहेको बताइन्। जोखिमयुक्त र हिमाली क्षेत्रमा सतर्कता अपनाउनुपर्नेमा विभागको जोड रहेको उनको भनाइ छ।
‘त्यस्तो डराउनुपर्दैन। ७०० मिलिलिटर भने जस्तै पानी पर्ने पनि होइन। जोखिम भएका र हिमाली क्षेत्रमा सतर्कता अपनाउनुपर्छ,’ उनले भनिन्।

भारतमा प्रणाली पश्चिम-उत्तरपश्चिमतर्फ
बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली बलियो बन्दै गएपछि भारतका विभिन्न राज्यमा भारी वर्षा भइरहेको छ। भारतको मौसम विज्ञान विभागका अनुसार सो प्रणाली पश्चिम-उत्तरपश्चिमतर्फ अघि बढिरहेको छ र आगामी दिनमा थप बलियो हुने सम्भावना छ।
अहिले यो प्रणाली बंगालको खाडीको पश्चिम-मध्य तथा उत्तरपश्चिम क्षेत्रमा ‘डिप्रेसन’का रूपमा रहेको छ। विभागले आगामी २४ घण्टामा यो ‘डीप डिप्रेसन’मा परिणत हुन सक्ने र सेप्टेम्बर २३ को रातदेखि २४ को बिहानसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा पुग्ने अनुमान गरेको छ। यदि यो प्रणाली पछि आँधीको चरणमा पुगेमा यसको नाम ‘अर्नब’ हुनेछ।
तर, अहिले नै सो मौसमीय प्रणालीले आँधी नै निम्त्याउँछ भन्ने छैन। अहिलेको अवस्था डिप्रेसन हुँदै डीप डिप्रेसनतर्फ अघि बढिरहेको प्रणाली भएको मौसमविदहरु बताउँछन्।
बंगालको खाडीबाट विकसित भएको यस प्रणालीका कारण भारतका पूर्वी तथा मध्य भागमा वर्षा बढ्ने अनुमान गरिएको छ। पश्चिम बंगाल, बिहार, झारखण्ड, छत्तीसगढ, मध्य प्रदेशलगायतका क्षेत्रमा केही दिनमै भारी वर्षाको सम्भावना रहेको छ।
पश्चिम बंगालमा केही जिल्लामा भारी वर्षा, मेघगर्जन र तीव्र हावाको चेतावनी जारी गरिएको छ। तटीय तथा तल्लो भूभागमा पानी जम्ने जोखिमसमेत औँल्याइएको छ। मध्य प्रदेशमा पनि सेप्टेम्बर २४ देखि धेरै जिल्लामा भारी वर्षाको सम्भावना देखिएको छ। भारतभर यस वर्षको मनसुन क्रमशः कमजोर हुँदै गए पनि बंगालको खाडीमा बनेको नयाँ प्रणालीले मध्य तथा पूर्वी भारतमा फेरि वर्षा सक्रिय गराउने देखिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।।
भारत हुँदै नेपालसम्म प्रभाव
बंगालको खाडीमा बनेको प्रणालीको प्रभाव भारतको तटीय क्षेत्रमा मात्रै सीमित रहने छैन। यो प्रणालीले बंगालको खाडीबाट आउने चिस्यानयुक्त हावाले पूर्वी तथा मध्य भारत हुँदै नेपालको मौसममा समेत प्रभाव पार्ने देखिएको हो।
विशेषगरी नेपालको पूर्वी तथा मध्य पहाडी क्षेत्रमा चिस्यानयुक्त हावा पहाडसँग ठोक्किँदा वर्षा थप सक्रिय हुन सक्ने मौसमविद्हरुले बताएका छन्।
त्यसैले भारतमा देखिएको यो मौसम प्रणाली नेपालका लागि पनि चासोको विषय बनेको हो।
नेपालमा यसको मुख्य जोखिम भनेको भारी वर्षासँगै नदीमा पानीको बहाव बढ्नु, पहिरो जानु र कमजोर भूभागमा बाढी तथा माटो–ढुंगाको बहाव बढ्नु रहेको मौसमविद् अनिष्ठा निरौलाले बताइन्।
निरौलाका अनुसार हाल बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणाली अझै बलियो बन्दै पश्चिम-उत्तर-पश्चिमतर्फ सर्दैछ। यो प्रणाली असोज ७ गते बेलुका दक्षिण ओडिसा, उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्ने सम्भावना रहेको उनले बताएकी छन्।
‘यस प्रणालीका कारण नेपालको पूर्वी-दक्षिण क्षेत्रमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। असोज ८ गते बिहीबार यो प्रणाली पश्चिम क्षेत्रमा फैलिने हुनाले मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा तथा केही ठाउँमा भने भारी वर्षा हुने सम्भावना रहेको छ। असोज ९ देखि ११ गतेसम्म नेपालको पश्चिमी भूभागमा मेघगर्जन/चट्याङसहित भारी देखि धेरै भारी वर्षा केन्द्रित हुने सम्भावना रहेको छ,’ उनले भनिन्।
असोज १२ बाट उक्त प्रणाली कमजोर हुने तथा वर्षा कम हुने देखिएको उनले बताएकी छन्।
पूर्वानुमान गरिएझै वर्षा भए त्यसले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने सम्भावना हुने विभागले जनाएको छ।
‘सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहने, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना छ,’ उनले भनिन्।
त्यसैले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा अनुरोध विभागले गरेको छ।

अझै भाद्र १० को बाढीबाट प्रभावित रसुवा, नुवाकोट लगायतका क्षेत्रमा भूभाग कमजोर रहेको अवस्थामा यो वर्षाले थप क्षति पुर्याउन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ।
बाढी प्रभावित जिल्लामा थप सतर्कता
बाढी प्रभावित भोटेकोशी र त्रिशूली करिडोर अझै सामान्य अवस्थामा फर्किन सकेको छैन। बाढी प्रभावितहरु आफ्नो घर फर्किन पाएका छैनन्। कयौं होल्डिङ सेन्टरमा छन् त कति भने आफन्तको घरमा। यही बेला फेरि अति भारी वर्षाको सम्भावनाले ती स्थानमा थप जोखिम बढाएको छ।
बाढी गएको जिल्ला मौसम पूर्वानुमान महाशाखाले ‘सतर्क हुने’ श्रेणीमा राखेको छ। भाद्र १० मा गएको बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ पुरानै अवस्थामा फर्किन सकेको छैन। फेरि भारी वर्षाको सम्भावना देखिएपछि ती जिल्लहरुमा थप सतर्कता अपनाउन थालिएको छ।
रसुवामा स्थानीय प्रशासनले भारी वर्षाको समाचार सँगै विपद प्रतिकार्यको लागि तयारी तीव्र पारेको जनाएको छ। जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल गर्दै सम्भावित जोखिम क्षेत्र पहिचान गरेर सूचना प्रवाह र उद्धारको तयारी गरिरहेको जनाएको हो।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार जोखिममा पर्न सक्ने क्षेत्र पहिचान गरेर स्थानीयस्तरमा पूर्वसूचना पुर्याउने तयारी भइरहेको छ। बाढीसम्बन्धी सूचना आएपछि जोखिमयुक्त क्षेत्रका बासिन्दालाई एसएमएसलगायत विभिन्न माध्यमबाट तत्काल अलर्ट गर्ने तयारी गरिएको छ।
‘प्राधिकरणसँग छलफल भइरहेको छ। कुन कुन ठाउँमा जोखिम हुन सक्छ भनेर पहिचान गर्दैछौँ। तटीय क्षेत्रमा अलर्ट गर्ने, बाढीको सूचनाबारे जानकारी गराउने र एसएमएसमार्फत पनि अलर्ट गर्ने तयारी छ। पहिला जोखिममा परेका ठाउँमा विशेष ध्यान दिएका छौं। उद्धार सामग्री तयार राख्ने र सुरक्षा निकायलाई पनि सतर्क अवस्थामा राख्ने काम भइरहेको छ,’ रेग्मीले भने।
त्यस्तै, सम्भावित विपद्को अवस्थामा सडकमार्गबाट तत्काल उद्धार तथा पहुँच स्थापना गर्न जेसीबीलगायतका उपकरण ‘स्ट्यान्डबाई’मा राख्न भनिएको उनले बताए। अस्पताललाई पनि आवश्यक तयारीमा रहन भनिएको छ भने नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको उनले बताए।
अघिल्लो बाढीपछि सुरक्षित स्थानमा सारिएका मानिसमध्ये धेरैजसो आफ्नो घर तथा आफन्तकोमा फर्किसकेको प्रशासनले जनाएको छ। रेग्मीका अनुसार यसअघि करिब ३,२०० जना विस्थापित होल्डिङ सेन्टरमा रहेकामा अहिले करिब ३०० जना मात्र छन्।

‘पहिला बसोबास भएको ठाउँको अवस्था अझै राम्रो छैन। सरसफाइलगायतका काम भइरहेका छन्। फाटफुट्ट बसिरहेकाहरूलाई पनि दुई तीन दिन त्यहाँ नबस्न भनेका छौं,’ उनले भने।
के हो डीप डिप्रेसन ?
बंगालको खाडीको उत्तरतर्फ न्यूनचापीय प्रणाली विकास भएदेखि नै भारत र नेपालमा सम्भावित जोखिमबारे सतर्कता अपनाउन थालिएको हो। बंगालको खाडीको उत्तरतर्फबाट सो प्रणाली पश्चिम उत्तर पश्चिम तर्फ सर्दै बलियो हुँदै गएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
भारतको मौसम विभागका अनुसार सोमबार यो प्रणाली पश्चिम-मध्य तथा उत्तरपश्चिम बंगालको खाडीमाथि ‘डिप्रेसन’का रुपमा अवस्थित थियो। त्यो २४ घण्टामा थप शक्तिशाली भएर ‘डीप डिप्रेसन’ बन्ने र मंगलबार रातिदेखि बुधबार बिहानसम्म उत्तर आन्ध्र प्रदेश–दक्षिण ओडिशा तट पार गर्ने अनुमान भारतीय पक्षले गरेको छ। भारतको मौसम विभागले नै अहिलेको प्रणालीलाई बंगालको खाडीबाट ओडिशा र आन्ध्र प्रदेशतर्फ अघि बढिरहेको ‘डीप डिप्रेसन’का रुपमा उल्लेख गरेको छ।
नेपालसम्म प्रभाव पार्न सक्ने भएपछि अहिले ‘डीप डिप्रेसन’ बारे चर्चा हुन थालेको छ। समुद्रमाथि विकसित हुने न्यून चापीय प्रणाली क्रमशः बलियो हुँदै जाँदा त्यसलाई विभिन्न चरणमा वर्गीकरण गरिन्छ। डिप्रेसनभन्दा बलियो अवस्था डीप डिप्रेसन भएको मौसमविदहरुले बताएका छन्। त्यसपछि मात्र अवस्था थप बलियो हुँदै गए त्यो ‘क्लोनिकल स्ट्रोम’ बन्न सक्ने बताइन्छ।
नेपालको कुन भागमा कस्तो रहन सक्छ अवस्था?
मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आइतबारसम्मको अवधिमा नेपालका धेरै भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताएको छ। विशेष गरेर पश्चिम तथा मध्य नेपालमा बढी वर्षा हुनसक्ने जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागले सम्भावित जोखिमलाई क्षेत्र अनुसार वर्गीकरण गरेको छ। विभागले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी देखि धेरै भारी र एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै, बागमती, मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा जोखिम रहेको र सतर्कता अपनाउनुपर्ने भनेको छ।
यहाँ मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।
त्यस्तै, कर्णाली प्रदेश तथा अन्य भागहरुमा पनि भारी र अधिकांश स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको भनिएको छ।
‘जोखिमयुक्त ठाउँहरुमा हामीले विशेष सतर्कता अपनाउनुपर्ने भनेका छौं। साथै हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने भनेका छौं। बाँकी आत्तिनुपर्ने अवस्था छैन। मौसमको अपडेट फलो गर्नुहोला,’नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्।









