काठमाडौं। उपत्यकामा ब्रोइलर कुखुराको बजार मूल्य फेरि बढेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सोमबारदेखि बजारमा लागु हुनेगरी भन्दै जिउँदो कुखुराको कोल्डस्टोर मूल्य बढाएको हो।
संघले जिउँदो कुखुरामा प्रति केजी १० रुपैयाँ बढाएर प्रति केजी ३०० रुपैयाँ पुर्याएको छ। तयारी मासुको उपभोक्ता मूल्य प्रति केजी ४१५ रुपैयाँ तोकेको छ।
यसअघि जिउँदो कुखुराको मूल्य प्रति केजी २९० रुपैयाँ थियो भने तयारी मासुको मूल्य प्रति केजी ४०० रुपैयाँ तोकिएको थियो।
करिब दुई महिना यता बजारमा जिउँदो कुखुरा र मासुको मूल्य हरेक साता बढ्दै गएको छ। दुई महिनामा जिउँदो कुखुराको मूल्य केजीमा ८० रुपैयाँ वृद्धि भएको छ। मासुको मूल्य प्रति केजी १०० रुपैयाँ बढेको छ।
संघका अनुसार कुखुराको मासुको खपत बढ्न थालेको अनुपातमा उत्पादन पर्याप्त हुन सकिरहेको छैन। चल्ला, दाना र कुखुरापालनमा हुने लागत बढेको छ। जसका कारण भाउ उकालो लागेको जिकिर सं पदाधिकारीको छ।
संघका अनुसार हाल देशभर ब्रोइलर कुखुराको मासुको माग दैनिक ६ लाख केजी छ। मागको आधाभन्दा बढी खपत उपत्यकाभित्र हुने गरेको छ।











