काठमाडौं। सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका सञ्चालकका उमेर हद तोक्ने व्यवस्था कार्यान्वयन नगर्न नेपाल राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले गत माघ २ गते जारी गरेको एकीकृत अनुसार संस्थागत सुशासनसम्बन्धी बुँदा नम्बर १८ कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
‘राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२, निर्देशन नं. ६/०८२ को बुँदा नं. १ को १८ को उमेर हदको व्यवस्था बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १६ को कानुनी व्यवस्था समेतका आधारबाट हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्नू,’ सर्वोच्चको आदेशमा भनिएको छ।
एकीकृत निर्देशनको बुँदा १८ मा ७० वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक पदमा नियुक्त पुननियुक्त तथा मनोनीत हुन योग्य हुने छैन भनिएको छ। यस्तै ७४ वर्ष नाघेको व्यक्ति सञ्चालक पदमा बहाल रहन नपाउने व्यवस्था छ। यो व्यवस्थाविरुद्ध भरतराज कोइरालाले रिट दायर गरेका थिए।
सर्वोच्चले अन्तरिम आदेशको छलफलबाट टुंगो नलाग्दासम्म उमेर हदको व्यवस्था कार्यान्वयन नगर्न भनेको हो।













