एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधाको मनोनयनमा छन् यी खेलाडी



बिजमाण्डू
२०८३ भदौ १८ गते १२:३१ | Sep 3, 2026
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधाको मनोनयनमा छन् यी खेलाडी


काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड बिहीबार हुँदैछ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लू पभेलियन हलमा अवार्ड कार्यक्रम हुनेछ।

Vigo
GBIME
Tata

यस पटक स्पोर्ट्स अवार्डलाई बाढीपीडित प्रभावितप्रति समर्पित गरिएको आयोजकले जनाएको छ। ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’मा खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने गर्दछ।

यो वर्ष पनि ९ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छ।

यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा चन्द्रबहादुर थापा (बक्सिङ), सोमबहादुर कुमाल (एथलेटिक्स), प्रदीप बजाइली मगर (कराते), दीपेन्द्रसिंह ऐरी (क्रिकेट) र सद्भाव आचार्य (गल्फ) परेका छन्। वर्ष महिला खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराते), सानुमाया थिङ (कराते), सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स), साबित्रा भण्डारी (फुटबल) र सबिना श्रेष्ठ (कराते) छन्।

त्यस्तै, वर्ष युवा खेलाडीको प्रतिस्पर्धा अर्पिल राना (बक्सिङ), रेहान जावेद (कराते), मनीषाकुमारी बोहरा (कराते), पुरुषोत्तम सिलवाल (चेस) र रौनक श्रीवास्तव (क्रिकेट) छन्।

वर्ष प्रशिक्षकमा दीपक महर्जन (बक्सिङ), कुशल श्रेष्ठ (कराते), मण्डेकाजी श्रेष्ठ (कराते), स्टुआर्ट ल (क्रिकेट) र पुरन सिंह खत्री (दृष्टिविहीन महिला क्रिकेट) मनोनयनमा परेका छन्।

पिपल्स च्वाइसको मनोनयनमा फुटबलकी पूजा राना, मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानुमाया थिङ प्रतिस्पर्धामा छन्।

लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रमकै क्रममा गरिनेछ।