काठमाडौं। डिभाइन हेल्थकेयरले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ। यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
आइपीओ निष्कासनसम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन्।
कम्पनीले जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ। आइपीओमार्फत सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने योजना रहेको छ।
२०७४ कात्तिक १४ गते स्थापना भएको डिभाइन हेल्थकेयर चितवनको औषधि उत्पादक कम्पनी हो। कम्पनी भरतपुर महानगरपालिका-१६ विजयनगरमा छ।
कम्पनीले औषधि व्यवस्था विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक दर्ता र स्वीकृति लिएर औषधि उत्पादन तथा बजारीकरण गर्दै आएको छ।
हाल कम्पनीले ६७ प्रकारका औषधि उत्पादन गर्दै आएको छ। ती औषधि नेपाली बजारमा बिक्री हुँदै आएका छन्। कम्पनीका एसिडेक्स, नेक्सोफास्ट ५ र प्रेगेक्स रेन्ज लगायतका औषधि बजारमा परिचित छन्।
कम्पनीले सीओपीडीका बिरामीका लागि आवश्यक ड्राई पाउडर इनहेलर पनि उत्पादन गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार माघदेखि यसको उत्पादन सुरु गर्ने योजना छ।
कम्पनी विगत ३ आर्थिक वर्षदेखि नाफामा छ। हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिएको पनि कम्पनीको भनाइ छ।
कम्पनीले देशभर १२५ भन्दा बढी वितरकमार्फत आफ्ना औषधि बजारमा पुर्याउँदै आएको छ। यसले देशभरको बजारमा आफ्नो पहुँच विस्तार गर्न सहयोग पुगेको कम्पनीले जनाएको छ।
आइपीओबाट प्राप्त पुँजीलाई कम्पनीले व्यवसाय विस्तारमा उपयोग गर्ने योजना बनाएको छ। नयाँ प्रविधि भित्र्याउने कम्पनीको तयारी छ। नयाँ औषधिको विकासलाई पनि प्राथमिकता दिइनेछ।










