काठमाडौं। नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढी पीडितलाई एक महिनाको तलब उपलब्ध गराउने जनाएका छन्।
एसीसी प्रिमियर कप खेल्न मलेसिया पुगेका लामिछानेले एक महिनाको तलबसँसै हरेक बाउन्ड्रीबापत रकम बाढी पीडितलाई दिने जनाएका हुन्।
‘मलेसियामा हुने एसीसी प्रिमियर कपमा नेपाललाई प्रतिनिधित्व गर्ने तयारी गरिरहँदा पनि हाम्रो मन स्वदेशमै छ। नेपालले पछिल्लो समय भोगिरहेको कठिन परिस्थितिप्रति हाम्रो गहिरो चासो र साथ छ,’ लामिछानेले लेखेका छन्, ‘यी सबै चुनौतीका बावजुद हामी मैदानमा आफ्नो शतप्रतिशत दिने तयारीमा छौँ।’
उनले नतिजाभन्दा पनि टोली प्रदर्शनले स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुसी ल्याओस् र उनीहरूलाई उत्साहित हुने एउटा कारण बनोस् भन्ने हाम्रो चाहना रहेको बताएका छन्।
‘असल कार्यमा सानो योगदान गर्ने उद्देश्यले म क्रिकेट संघ नेपाल (क्यान) बाट प्राप्त एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नेछु,’ उनले लेखेका छन्, ‘यसका साथै, एसीसी प्रिमियर कप अवधिभर नेपालले लिने प्रत्येक विकेटबापत १५ सय रुपैयाँ र नेपालले प्रहार गर्ने हरेक चौका तथा छक्काबापत १५ सय रुपैयाँ सहयोग गर्नेछु।’
उनले यो रकम बाढीबाट प्रभावित बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने जनाएका छन्।
यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले पनि बाढी तथा विपतबाट प्रभावितलाई ३० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने जनाएको थियो। त्यस्तै, एनपीएल फ्रेन्चाइज विराटनगर किंग्सले १५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको थियो।
चितवन राइनोजले बाढी पीडितका लागि चितवन मेडिकल कलेजमा निःशुल्क उपचारको घोषणा गरेको थियो। पोखरा एभेन्जर्सले त पहिलो संस्करणमै कुनै प्रायोजक नराखी ‘ग्लेसियर म्याटर्स’ भन्ने वातावरणीय सन्देश दिएको थियो।
नेपालको पुरानो फुटबल क्लब न्यूरोड टिम (एनआरटी)ले पनि १ लाख ५० हजार सहयोग गरेको छ।
यसबाहेक अस्ट्रेलियामा ‘टप एण्ड क्रिकेट’मा खेलाडीहरूले मौनधारण गरेका थिए। स्पेनिस ला लिगामा पनि मौनधारण गर्दै खेल सुरु गरेका थिए।











