काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी-रसुवागढी जोड्ने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ।
यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ। लेदो हटाएर सडक सञ्चालनमा ल्याउन काम भइरहेको मन्त्रालयले जनाएको छ।

बाढीका कारण ४१ वटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग हाल ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज छन्। आवश्यकता पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भारत र चीन सरकारले आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने आश्वासन दिएका छन्।
पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइनेछ। रसुवालाई सडक सञ्जालसँग जोड्न पनि काम अघि बढाइएको छ। त्यसका लागि बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न सक्ने अवस्था छैन।
सडक खुलाउन निजी क्षेत्रले उपलब्ध १० वटासहित २० वटा उपकरण परिचालन गरिएको छ।











