काठमाडौं। पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट ५३२ खेलाडीले सहभागिता जनाउने भएका छन्। खेलमा नेपालबाट १५३ जना अफिसियलसमेत सहभागी हुने प्रारम्भिक सूची रहेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।
सन् २०१९ देखि हुन नसकेको सागको दक्षिण एसियाली ओलम्पिक कमिटीले नयाँ मिति तोकिसकेको छ। यो मितिमै साग गराउन सबै देश प्रतिबद्धा रहेकाले यसमा शंक नगर्न नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बताए। यद्यपि भारत र पाकिस्तानबीचको तनाबको प्रत्यक्ष असर यो प्रतियोगितामा पर्दै आएको छ।
यही साता पाकिस्तानमा भएको दक्षिण एसिया ओलम्पिक काउन्सिल (एसएओसी) को कार्यकारी समिति बैठकले १४औँ सागको मिति, खेल संख्या तथा प्रतियोगितासम्बन्धी विभिन्न विषय टुंगो लगाएको थियो। नेपाल ओलम्पिक कमिटीले बुधबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय र खेलको तयारीबारे जानकारी दिएको छ।
१४औँ साग आगामी यसै वर्ष चैत २० देखि २८ गतेसम्म तारिखसम्म पाकिस्तानमा आयोजना हुनेछ।
प्रतियोगितामा २८ खेल समावेश हुनेछन्। तीमध्ये २५ खेलमा पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा हुनेछ। कुल ३४६ स्वर्ण, ३४६ रजत र ५१५ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जनाइएको छ।
प्रारम्भिक सूचीअनुसार खेलमा सात दक्षिण एसियाली राष्ट्रबाट ३ हजार १ सय ७२ खेलाडी र १ हजार ९ सय १८ अफिसियल गरी कुल ५ हजार ९० जना सहभागी हुने अनुमान गरिएको छ। नेपालपछि आयोजक पाकिस्तानबाट सबैभन्दा धेरै ७६० खेलाडी सहभागी हुनेछन्। भारतबाट ४७२, श्रीलंकाबाट ६७०, बंगलादेशबाट ४८२, माल्दिभ्सबाट २६१ र भुटानबाट ८५ खेलाडी सहभागी हुने प्रारम्भिक विवरणमा उल्लेख छ।
पाकिस्तानले खेल तीन सहरमा आयोजना गर्नेछ। राजधानी इस्लामाबादमा १५, लाहोरमा १० र पेशावरमा तीन खेल सञ्चालन हुनेछन्। उद्घाटन समारोह इस्लामाबादको जिन्नाह स्टेडियममा हुनेछ, जहाँ करिब ५० हजार दर्शक अटाउन सक्ने क्षमता रहेको छ।
यसैबीच, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको संयोजकत्वमा साउथ एसिया ओलम्पिक काउन्सिल कोअर्डिनेसन कमिटी गठन गरिएको छ। समितिमा श्रीलंका, बंगलादेश र भुटानका महासचिव तथा ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधि सदस्य रहनेछन्।
उक्त समितिले आयोजक राष्ट्रको ओलम्पिक कमिटी र सरकारसँग समन्वय गरी १४औँ साग निर्धारित समयमै सम्पन्न गराउन सहयोग गर्ने जनाइएको छ।
एसएओसी प्रतिनिधिमण्डलले पाकिस्तानका सम्बन्धित सरकारी अधिकारीसँग भेट गरी खेल निर्धारित समयमै आयोजना हुने विषयमा छलफल गर्नुका साथै इस्लामाबादस्थित खेलस्थलको निरीक्षणसमेत गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।










