बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि भारत, चीन र विश्व बैंक अघि सर्‍यो, सरकारसँग समन्वयमा



बिजमाण्डू
२०८३ भदौ १० गते १७:०६ | Aug 26, 2026
बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि भारत, चीन र विश्व बैंक अघि सर्‍यो, सरकारसँग समन्वयमा


काठमाडौं । आज गएको बाढीबाट प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले सरकारसँग समन्वय गरेका छन्।

Vigo
GBIME
Tata

आज बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका हुन्।

भारतले पनि बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीको सूची पठाउन सरकारलाई भनेको छ। प्रधानमन्त्री, अर्थमन्त्री लगायत अन्य वरिष्ठ मन्त्रीहरुसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आज नै काठमाडौँ ल्याइने तयारी भइरहेको बताए।

यस्तै, चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।

विपद् लगत्तै सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर-सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा छलफल गरिरहेको जनाइएको छ।

आज बसेको मन्त्रीपरिषद बैठकले रसुवा, नुवाकोट र धादिङ्गका प्रभावित पालिकाहरुलाई ‘विपद संकटग्रस्त क्षेत्र’ घोषित गरेपछि घरेलु एवं बाह्य सहयोग जुटाउने बाटो खुलेको हो।