काठमाडौं। गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासीका सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार साहले पदीय मर्यादाविपरीतका कार्य गरी करिब ४ करोड रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएपछि मुद्दा दायर गरिएको हो। आयोगले उनीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बिगो कायम गरी आरोपपत्र दायर गरेको छ।
साहले भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा अमिन पदमा अस्थायी नियुक्ति लिएको २०४६ माघ १६ गतेदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिलाई आयोगले अनुसन्धानको जाँच अवधि कायम गरेको थियो। सो अवधिमा साह र उनको एकासगोल परिवारले विभिन्न स्रोतबाट ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक आय आर्जन गरेको अनुसन्धानबाट देखिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।
तर सोही अवधिमा जग्गा तथा सेयर खरिद, सवारीसाधन खरिद, बीमा प्रिमियम, अध्ययन खर्च, ऋण तथा सापटी भुक्तानी, बैंक मौज्दात, ऋण तथा सापटीका रूपमा दिएको रकम, जग्गा खरिदसम्बन्धी कमिसनलगायतमा ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ ९५ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ।
वैधानिक आयभन्दा खर्च तथा लगानी ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बढी देखिएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको आयोगको भनाइ छ। त्यसैले उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको ठहर आयोगको छ।
साहले सम्पत्ति विवरणमा वास्तविक जेथा नखुलाई लुकाइछिपाई झुट्टा विवरण पेस गरेको आरोपसमेत आयोगको छ। गैरकानुनी रूपमा आर्जित सम्पत्तिमध्ये केही उनकी श्रीमती सुमित्रादेवी साहको नाममा समेत रहेको आयोगले जनाएको छ।
मुद्दामा सुमित्रादेवीलाई भने स्रोत नखुलेको सम्पत्तिबाट उनको नाममा खरिद तथा लगानी गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ।










