काठमाडौं । न्यूजिल्याण्डका अलराउण्डर जिम्मी निशम जनकपुर बोल्ट्स फर्किएका छन्। नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका निशमले दोस्रो संस्करण पोखरा एभेजन्जर्सबाट खेलेका थिए।
दोस्रो संस्करणमा उनको र पोखरा दुवैको प्रदर्शन राम्रो थिएन। प्रतियोगिता पछि पारिश्रमिक समयमा नपाएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका समेत थिए। त्यसपछि पोखराले उनलाई रकम दिएको जनाएको थियो।
यसपटक उनी फेरि जनकपुर फर्किएका छन्। जनकपुरले घोषणा गरेको उनी दोस्रो विदेशी खेलाडी हुन्। यसअघि जनकपुरले अमेरिकी अलराउण्डर हरमीत सिंहलाई अनुबन्ध गरिसकेको जनाएको थियो।
हरमीतले यसपाला जनकपुरको कप्तानी गर्नेछ। हरमीतले यसअघिका संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए।
यसपटक जनकपुरले राष्ट्रिय टोलीका ओपनर समेत रहेका मार्की खेलाडी आशिफ शेखलाई टिमबाट रिलिज गर्ने ‘बोल्ड’ निर्णय गरेको थियो। दोस्रो संस्करणमा आशिफ चलेका थिएनन्।
यस्तो बन्दैछ जनकपुरको टिम
अनिलकुमार साह, ललित राजवंशी, मयन यादव, आदित्य महतारा, विकाश अग्री, तृतराज दास, सन्तोष कार्की, रित गौतम, आशुतोष पाण्डे, विशाल सुस्लिङ, अभिषेक तिवारी, विशाल पटेल, अमरसिंह रौटेला
विदेशी खेलाडी: हरमीत सिंह (कप्तान), जिम्मी निशम










