काठमाडौं। राइड सेयरिङमा छुटेको ल्यापटप खोज्दै प्रहरीकहाँ पुगेका एक यात्रुले अन्ततः चोरीको स्कुटरमा आफूले यात्रा गरेको खुलेपछि घटनाले अनौठो मोड लिएको छ।
नक्सालबाट भक्तपुर दरबार स्क्वायर जाने क्रममा राइड सेयरिङको स्कुटरमा ल्यापटपको झोला छुटेपछि यात्रुले चालकसँग सम्पर्क गर्न खोजे। तर चालक सम्पर्कविहीन भए, सम्पर्कमै आउन चाहेनन्। त्यसपछि उनले आफ्नो ल्यापटप खोजिदिन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा अनुरोध गरे।
ती यात्रुको ल्यापटपको खोजी गर्ने क्रममा सोमबार प्रहरीले स्कुटरसहित चालकलाई नियन्त्रणमा लियो। अनुसन्धान गर्दै जाँदा यात्रुले चढेको स्कुटर नै चोरीको रहेको खुलेपछि चालक ३९ वर्षीय सरोज खनाललाई पक्राउ गर्यो। काठमाडौंको नयाँ बसपार्कस्थित होटलमा बस्दै आएका झापाको दमक-७ का खनाललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चोरीको स्कुटरसहित नियन्त्रणमा लिएको हो।
उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार खनालले तेस्रो व्यक्तिको राइड सेयरिङ एपको आइडी प्रयोग गरेर यात्रु ओसारपसार गर्दै आएको पनि खुलेको छ। खनालबाट बरामद स्कुटरको नम्बरसमेत परिवर्तन गरिएको थियो। अनुसन्धान गर्दा उक्त स्कुटर गत साउन २३ गते काठमाडौंको गोंगबुबाट चोरी भएको खुलेको छ।
खनाल यसअघि पनि मोटरसाइकल चोरीको घटनामा प्रहरीको अनुसन्धानमा तानिएका व्यक्ति रहेको खुलेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाउने क्रममा एउटा मोटरसाइकलको डिकीभित्र खनालको नागरिकता फेला पारेको थियो।
त्यही आधारमा प्रहरीले उनी मोटरसाइकल चोरीमा संलग्न रहेको हुनसक्ने शंका पनि गरेको छ। साथै, अन्य चोरीका घटनामा समेत उनको संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। थप अनुसन्धान तथा कारबाहीका लागि खनाललाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिए।











