विराटनगर। भारतमा खानी उद्योगले स्पन्ज आइरनको मूल्य २ हप्तामै २० प्रतिशतले वृद्धि गरेका छन्।
ती उद्योगले स्टिल उत्पादनका लागि आवश्यक पर्ने कोइलाको अभावसँगै मूल्यवृद्धि भएको भन्दै स्पन्ज आइरनको मूल्यवृद्धि गरेका हुन्। स्पन्ज आइरनको मूल्यवृद्धिको असर नेपालका स्टिल उद्योगलाई परेको छ। नेपालमा टीएमटी लगायतका स्टिलका वस्तुको मूल्यवृद्धि भएको छ।
पूर्वका उद्योगले टीएमटीको मूल्य किलोमा ४ रुपैयाँले वृद्धि गरेका हुन्।
विराटनगरको निरौला हार्डवेयरका सञ्चालक अनन्त निरौलाका अनुसार १५ दिन अघिसम्म मोरङ–सुनसरीका स्टिल उद्योगले कारखाना मूल्य भ्याट र ढुवानीखर्चबाहेक किलोको ७४ देखि ७६ रुपैयाँमा टीएमटी दिइरहेका थिए। यो मूल्य अहिले वृद्धि भएर किलोको ७८ देखि ८० रुपैयाँ पुगेको छ। उद्योगीले स्टिलजन्य उत्पादनको मूल्य अझै वृद्धि हुने बताइरहेका छन्।
स्टिल खानीमा आधारित उद्योगले कोकिङ कोइला अर्थात् मेटलर्जिकल कोइला (मेट कोल) भनिने उच्च गुणस्तर र क्षमताको कोइला प्रयोग गर्दछन्। तर भारतमा यसको उत्पादन नगण्य हुँदा ९५ प्रतिशतभन्दा बढी आपूर्ति आयातमा निर्भर छ। सबैभन्दा बढी मेट कोलको आयात अस्ट्रेलियाबाट हुन्छ।
यसैबिच अस्ट्रेलियाको मेटलर्जिकल कोइलाखानी क्षेत्रमा आएको भीषण बाढीपछि त्यहाँ मेट कोलको उत्पादन घटेको छ। यसका कारण यसको मूल्यवृद्धि र अभाव सँगसँगै भएको हो।
भारतीय पत्रपत्रिकाका अनुसार अस्ट्रेलियामा उत्पादन घटेपछि भारतका स्टिल उद्योग अमेरिकातर्फ सोझिएका थिए। तर अस्ट्रेलियाका कारण अमेरिकामा पनि मेट कोलको मूल्यवृद्धि भइरहेको छ।
हाल भारतमा टनको २३० देखि २३६ डलरमा मेट कोलको आयात भइरहेको छ। यो मूल्य गत वर्षको भन्दा २५ प्रतिशतले बढी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष एवम् प्रिमियर स्टिलका सञ्चालक अनुपम राठीले भारतका स्टिल उद्योगले २ हप्ता अघिसम्म टनको २३५ डलरमा पूर्वका स्टिल उद्योगलाई स्पन्ज आइरनको आपूर्ति दिएको बताए।
हाल यो मूल्य २८० देखि २८५ डलर भएको छ। उद्योगी राठीका अनुसार मूल्यवृद्धि भएर पनि भारतमा स्पन्ज आइरन पाउन गाह्रो भइरहेको छ। त्यहाँका स्टिल उद्योगले सप्लाईको अर्डर लिन मानिरहेका छैनन् । यसका कारण अझै मूल्यवृद्धि हुने संकेत देखिएको छ।
उद्योगीले टीएमटीको मूल्य किलोको कम्तीमा ८ रुपैयाँले वृद्धि हुनुपर्नेमा ३ देखि ४ रुपैयाँले मात्र वृद्धि भएको जिकिर गरेका छन्। नेपाल स्टिल उत्पादक संघका अध्यक्ष हरि न्यौपानेले हाल वृद्धि भएको टिएमटीको मूल्य किलोको ३ देखि ४ रुपैयाँ अत्यन्त कम भएको दाबी गरे।
अध्यक्ष न्यौपानेका अनुसार स्पन्ज आइरनको अभावसँगै मूल्यवृद्धि, विद्युत् महसुलमा लागेको भ्याटका कारण चालु पुँजी थुनिने समस्या र स्क्र्यापमा पनि भएको मूल्यवृद्धि लगायतका कारणले टीएमटीको मूल्य कम्तीमा किलोको ८ रुपैयाँले वृद्धि हुनुपर्ने हो । तर उद्योगीले एकैपटक मूल्यवृद्धि गर्ने हिम्मत गरिरहेका छैनन्।
न्यौपानले भारतमा कोइलाको अभावका कारण सरकारले उद्योगीलाई खानीबाट आइरन ओरको उत्पादन कम गर्न भनेको छ। फलाम खानीबाट सबैभन्दा पहिले आइरन ओरको उत्पादन गरिन्छ। आइरन ओरबाट स्पन्ज आइरन बनाइन्छ। स्पन्ज आइरनबाट बिलेट, एचआर सिट लगायतका वस्तु उत्पादन गरेर तिनबाट टीएमटी, एंगल–च्यानल, स्क्वायर पाइप, गोलो पाइप आदिको उत्पादन गरिन्छ।
न्यौपानेले भने, ‘भारतले खानीबाट २४ लाख टन आइरन ओर उत्पादन गर्ने अनुमति दिनुपर्ने थियो तर त्यसको एक चौथाइ अर्थात् ६ लाख टन मात्र दिएको छ। यसका कारण स्पन्ज आइरनको अभाव र मूल्यवृद्धि सँगै भएको हो।’









