काठमाडौं। नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन्।
उदयपुरका कार्कीलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत भएका कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक थिए। उनी २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका थिए।
राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामिण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेको अनुभव उनीसँग छ।
कार्कीले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यववस्थापनमा स्नाकतोत्तर गरेका छन्।
उनले केन्द्रीय बैकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषण लगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गरेका छन्।









