अख्तियारको छानबिनमा तानिएकी गंगाले फेसबुकबाट दिइन् गैरकानुनी सम्पत्ति देखाउन चुनौती



बिजमाण्डू
२०८३ भदौ ४ गते १८:५६ | Aug 20, 2026
अख्तियारको छानबिनमा तानिएकी गंगाले फेसबुकबाट दिइन् गैरकानुनी सम्पत्ति देखाउन चुनौती


काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालकी छोरी गंगा दाहालले आफ्नो नाममा अकुत सम्पत्ति रहेको देखाउन चुनौती दिएकी छन्।

Tata
GBIME

अकुत सम्पत्ति थुपारेको आशंकामा अख्तियारले आफू र आफ्ना पति जीवन आचार्यलाई अनुसन्धानको घेरामा तानेर छानबिन अगाडि बढाएका बेला गंगाले बिहीबार सामाजिक सञ्जालमार्फत गैरकानुनी सम्पत्ति देखाउन चुनौती दिएकी हुन्।

‘केही समयअघिसम्म चर्को स्वरमा भनियो, फलानोसँग दुबईमा ४० अर्ब छ, नेपालका ठूला घरजग्गा यिनीहरूकै हुन्, भाटभटेनी र अरू कति-कति सबै यिनीहरूकै हुन्। हामी चुप बस्यौं, लाग्यो नजाने गाउँको बाटै नसोध्नु,’ उनले लेखेकी छन्’ ‘तर अब बोल्नैपर्ने भयो। राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला। कुनै पनि आरोप पुष्टि नभएपछि बजारमा अहिले ४० अर्बको ठाउँमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ। म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन्? हेक्का रहोस्, सत्य अन्ततः सत्य नै हुन्छ।’

गंगाले कानुनबमोजिम जुनसुकै निकायले गर्ने छानबिनका लागि आफू र आफ्नो परिवार तयार रहेको भन्दै अफवाह फैलाइएकामा सरकारको ध्यानाकर्षण गराएकी छन्।

‘हामीबाट कुनै आर्थिक गलत गतिविधि र पदको दुरुपयोग भएको छैन र भोलिका दिनमा पनि हुने छैन। म फेरि पनि स्मरण गराउन चाहन्छु कि हामीले हाम्रो सम्पत्ति विवरण सरकार समक्ष केहि समयअघि नै बुझाइसकेका छौं। सरकारले गर्ने जुनसुकै अनुसन्धानका लागि हाम्रो सहयोग रहनेछ,’ उनले भनेकी छन्, ‘गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौं। तर, बिनाकारण र बिना गल्तीको आरोप स्वीकार्य छैन। यी सबैखाले आरोप म अस्वीकार गर्दछु।’