दसैंलाई लक्षित गरी विराटनगरमा असोज २२ देखि ‘विराट ट्रेड फेयर’, उपभोग्य वस्तु सहुलियत मूल्यमा



बिजमाण्डू
२०८३ भदौ ४ गते १७:२५ | Aug 20, 2026
दसैंलाई लक्षित गरी विराटनगरमा असोज २२ देखि ‘विराट ट्रेड फेयर’, उपभोग्य वस्तु सहुलियत मूल्यमा


विराटनगर। मोरङका खुद्रा पसलहरूको संस्था विराट व्यापार संघले दसैंलाई लक्षित गर्दै मेला गर्ने भएको छ। संघले आगामी असोज २२ देखि ३० गतेसम्म विराट ट्रेड फेयर गर्ने भएको हो।

Tata
GBIME

विराटनगरको जैन भवनमा हुने मेलामा अत्यावश्यक वस्तुका १०० स्टल राख्ने संघले जनाएको छ। संघका अध्यक्ष प्रमोदकुमार जिन्दलका अनुसार मेलामा रेडीमेड गार्मेन्ट र फुटवेयरका १५, खाद्यान्नका १५, हाउसहोल्डका ८, डेरी उद्योगका ५, इलेक्ट्रोनिक्स सामग्रीका ८, बैंक इन्स्योरेन्सका ८, अटोमोबाइलका ७ वटा स्टल रहनेछन्। यस्तै ४ वटा फुड स्टल राखिनेछ।

अध्यक्ष जिन्दलले मेलाका लागि स्टल धमाधम बुकिङ भइरहेको जानकारी दिए। उनले चाडबाडलाई लक्षित गर्दै सहुलियत मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन मेला गर्न लागेको बताए।

‘चाडपर्व भन्नेबित्तिकै तराईमा सीमापारि जाने परम्परा छ। हामी सहुलियत मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराएर यस परम्परालाई तोड्न चाहन्छौं। यसका लागि हामीले चिनी सस्तो मूल्यमा उपलब्ध गराउन साल्ट ट्रेडिङलाई अनुरोध गरेका छौं,’ अध्यक्ष जिन्दलले भने।

मेला १ लाखले अवलोकन गर्ने र १५ करोडसम्मको कारोबार हुने संघको अनुमान छ। संघमा २ हजारभन्दा बढी व्यावसायिक कम्पनी सदस्य छन्।