काठमाडौं । नेपाली ब्राण्ड जेम्स शुज ‘फुटवेयर इन्डिया एक्स्पो २०२६’मा सहभागी हुने भएको छ। नयाँ दिल्लीस्थित प्रगति मैदानमा शुक्रबारदेखि सुरु हुने तीनदिने प्रदर्शनीमा कम्पनीले सहभागिता जनाउन लागेको हो।
लामो समयपछि नेपाली जुत्ता उद्योगले भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापारिक प्रदर्शनीमा सहभागिता जनाउन लागेको नेपाल जुत्ता फ्याक्ट्रीका प्रमुख कार्यकारी अधिकृत विकास अर्यालले बताए।
नवलपुरमा कारखाना र काठमाडौंको ठूलो भर्याङमा कर्पोरेट कार्यालय रहेको कम्पनीले करिब २५ वर्षदेखि विभिन्न प्रकारका जुत्ता उत्पादन गर्दै आएको छ।
हाल यस ब्रान्डको जुत्ता नेपाली बजारमा बिक्री हुँदै आएका छ। कम्पनीले गुणस्तर, आराम र आधुनिक डिजाइनलाई केन्द्रित गरेर जुत्ता उत्पादन गर्दै आएको जनाएको छ। अब स्वदेशी बजारमा सीमित ब्रान्डको पहिचानलाई क्षेत्रीय बजारसम्म विस्तार गर्ने रणनीति अघि सारेको कम्पनीले जनाएको छ।
कम्पनीले एक्स्पोलाई भारतीय बजारमा प्रवेशका लागि वितरक, थोक विक्रेता, खुद्रा बिक्रेता तथा अन्य व्यावसायिक साझेदार खोज्ने अवसरका रूपमा लिएको प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए।
भारतमा उत्पादन निर्यात तथा बजार विस्तारका सम्भावना पहिल्याउने, दीर्घकालीन व्यावसायिक सम्बन्ध स्थापना गर्ने र क्षेत्रीय बजारमा ब्रान्डको पहिचान विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको छ।
अर्यालका अनुसार एक्स्पोमा भारतका करिब चार सय जुत्ता उद्योग तथा व्यवसायको सहभागिता रहनेछ। जुत्ता उत्पादकसँगै वितरण, खुद्रा व्यापार, कच्चा पदार्थ, सहायक सामग्री तथा जुत्ता उत्पादनसम्बन्धी मेसिनरी व्यवसायीको समेत सहभागिता रहने भएकाले नेपाली कम्पनीका लागि बजार बुझ्ने र सम्भावित साझेदार पहिचान गर्ने अवसर बन्ने उनको विश्वास छ।
फुटवेयर इन्डिया एक्स्पो भारतको फुटवेयर उद्योगमा केन्द्रित ‘बीटुबी’ व्यापारिक प्रदर्शनी हो। ब्रान्ड उत्पादक, थोक व्यापारी, वितरक, सहायक सामग्री तथा पार्टपुर्जा उत्पादक, कच्चा पदार्थ र मेसिनरी आपूर्तिकर्तालाई एउटै मञ्चमा ल्याउने उद्देश्य यो प्रदर्शनीको छ।










