काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि यो वर्ष पनि चौपाया बिक्री नगर्ने भएको छ।
सरकारी स्वामित्वको कम्पनीले हरेक वर्ष चाडपर्वको समयमा बजारमा हुने मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै उपभोक्तालाई सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दै आएकामा पोहोर जस्तै यसवर्ष पनि नबेच्ने भएको हो।
कम्पनीले गत वर्ष जेनजी आन्दोलनका कारण चौपाया खरिद गरेको थिएन। कम्पनीका सूचना अधिकारी माधव मिश्रले यसपटक पनि दसैंका लागि खसी, बोका र च्याङ्ग्रा खरिद गर्ने कार्यक्रम नरहेको जानकारी दिए।
‘यो पटक चौपाया खरिदका लागि बजेट राखिएको छैन। जसले गर्दा गत वर्ष जस्तै यसपालि पनि हाम्रो कम्पनीले चौपाया बिक्रीमा राख्ने छैन,’ मिश्रले भने।
चौपाया खरिद गरेर बिक्री गर्न चुनौतीपूर्ण भएको निष्कर्षमा कम्पनीले हात उठाएको स्रोतले बतायो। ‘दुई वर्षअघि दसैंका लागि भनेर ल्याएको च्याङ्ग्रा तिहारसम्म पनि बिक्री भएन। कतिपय चौपाया मरे। विभिन्न जिल्लाबाट किनेर ल्याउन सजिलो पनि छैन। त्यसैले सहज नदेखेरै यसपालि खसी बोका र च्याङ्ग्रा किन्नका लागि बजेट नै नछुट्याइएको हो,’ स्रोतले भन्यो।
गत वर्ष कम्पनीले जेनजी आन्दोलनका कारण खसी बोका नकिने पनि बजेट भने छुट्याइएको थियो। खसी, बोका र च्याङग्रा २ हजार वटा किन्नका लागि करिब ४ करोड रुपैयाँ बजेट छुट्याइएकामा जेनजी आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिले कम्पनीले चौपाया खरिद बिक्रीको कार्यक्रम स्थगित गरेको थियो।
कम्पनीले त्यसअघिका वर्ष भने देशका विभिन्न जिल्लाबाट खसी, बोका र च्याङ्ग्रा किनेर ल्याइ उपभोक्तालाई प्रति केजी १० रुपैयाँ छुटसहित बेच्ने गरेको थियो। कम्पनीले खसी, बोका र च्याङ्ग्रा बेच्दा बजारमा व्यापारीहरुले आफूखुशी भाउ बढाउने अवस्था हुँदैनथ्यो।
खसीको मासु थप महँगिने!
कम्पनीले हात उठाएका कारण यसपालिको दसैंमा उपभोक्ताले थप महँगीको सामना गर्नुपर्ने देखिएको छ।
गत चैतदेखि देशभर बर्डफ्लु फैलिएपछि खसीको मासुको माग एकाएक बढ्यो। व्यापारीले माग बढेको मौका छोपेर खसीको मासुको मूल्य प्रति केजी १ हजार २५० बाट १ हजार ७०० रुपैयाँसम्म पुर्याए। बर्डफ्लुको संक्रमण साउनयता देखिएको छैन। तर, व्यापारीले खसीको मासुको मूल्य घटाएका छैनन्।
चौपाया खरिद बिक्री केन्द्रका अध्यक्ष जीवनराज खतिवडाले भने पछिल्लो समय उत्पादन नै कम भएका कारण खसीबोकाको मूल्य बढेको बताए।
‘उत्पादन कम भएका कारण जिउँदो खसीबोकाको मूल्य प्रति केजी ७५० देखि ८५० रुपैयाँसम्म पुगेको छ। यसपटक दसैंमा खसी बोकाको मूल्य कस्तो हुन्छ भनेर अहिले भन्न सकिंदैन। दसैं ढिला भएकोले तयारी गर्न बाँकी छ,’ उनले भने, ‘दसैंका लागि कति खसी बोका र च्याङ्ग्रा ल्याउने निर्णय भइसकेको छैन। हामीले बजार विश्लेषण गरिरहेका छौं।’










