वैकल्पिक ऊर्जाले माग्यो ३६ सामाजिक परिचालकका लागि आवेदन, २२ जिल्लामा खटाइने



बिजमाण्डू
२०८३ भदौ ४ गते ०९:३३ | Aug 20, 2026
वैकल्पिक ऊर्जाले माग्यो ३६ सामाजिक परिचालकका लागि आवेदन, २२ जिल्लामा खटाइने


काठमाडौं। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ३६ जना सामाजिक परिचालक नियुक्त गर्ने भएको छ। केन्द्रले खुलातर्फ १८ र महिलातर्फ १८ जनाका लागि आवेदन माग गर्दै बिहीबार सूचना प्रकाशित गरेको हो।

Tata
GBIME

केन्द्रका अनुसार तराईका २२ जिल्लाका बढीमा १५० स्थानीय तहमा खाना पकाउने स्वच्छ ऊर्जा प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालनमा छ। ‘मिटिगेटिङ इमिसन थ्रु मोर्डन, इफिसियन्ट एण्ड क्लाइमेट फ्रेन्डली क्लिन कुकिङ सोल्युसन्स’ कार्यक्रमअन्तर्गत आवश्यक पर्ने जनशक्ति करारमा नियुक्त गर्न लागिएको हो।

‘क्लिन कुकिङ सोलुसन्स मोबिलाइजर’ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह (१२ कक्षा) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै नवीकरणीय ऊर्जाको क्षेत्रमा वा सामाजिक परिचालन तथा व्यवसाय प्रवर्द्धन/बजारीकरणको क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव आवश्यक पर्ने केन्द्रले जनाएको छ।

छनोटका लागि शैक्षिक योग्यता र अनुभवका आधारमा संक्षिप्त सूची तयार गरी लिखित तथा अन्तर्वार्ताबाट उम्मेदवार छनोट गरिने सूचनामा छ। छनोट भएकालाई तोकिएका स्थानीय तहमा खटाइनेछ।

इच्छुक नेपाली नागरिकले केन्द्रको वेबसाइटबाट आवेदन फाराम डाउनलोड गरेर आवश्यक कागजातसहित १५ दिनभित्र केन्द्रको कार्यालय वा इमेलमा पठाउने सक्ने जनाइएको छ।