यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान



बिजमाण्डू
२०८३ भदौ ४ गते ०६:५५ | Aug 20, 2026
यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान


काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ। हाल देशभर साधारणतया बादल लागेको छ।

Tata
GBIME

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो पनि साधारणतया बादल लाग्नेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

पहाडी भू-भागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेशका साथै कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, बिहीबार राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थान, मधेश तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ।