काँकडभिट्टाबाट एक वर्षमा १४ करोडको जडीबुटी निर्यात, बंगलादेशमा पनि बढ्दैछ निकासी



बिजमाण्डू
२०८३ भदौ ३ गते १६:१२ | Aug 19, 2026
काँकडभिट्टाबाट एक वर्षमा १४ करोडको जडीबुटी निर्यात, बंगलादेशमा पनि बढ्दैछ निकासी


काठमाडौं । एक वर्षमा १४ करोड ६ लाख ८३ हजार रुपैयाँको जडीबुटी निर्यात भएको छ। काँकडभिट्टाबाट भारत र बंगलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो।

Tata
GBIME

भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यात भई दुई करोड ६६ लाख ६४ हजार र बंगलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा ६ करोड ५६ लाख ३५ हजार आम्दानी भएको पूर्वी भन्सार नाका काँकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहले बताए।

नेपाली जडीबुटीको परम्परागत बजार भारत हो। पछिल्लो समय बंगलादेशतर्फ रिठ्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसीलगायतका जडीबुटीको निकासी बढेको छ। यस अवधिमा बंगलादेशतर्फ १८७ मेट्रिक टन रिठ्ठा (दुई करोड तीन लाख ८६ हजार रुपैयाँको), ४० मेट्रिक टन क्यानोला तेल (एक करोड २८ लाख ३६ हजार रुपैयाँको) र पाँच मेट्रिक टन सतावर (९४ लाख ५६ हजार रुपैयाँको) निर्यात भएको छ।

कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाडी क्षेत्रमा पाइने पदमचाल र सतावरले निकै राम्रो बजार मूल्य पाएका छन्। १२ मेट्रिक टन पदमचालबाट ९४ लाख ८८ हजार रुपैयाँ र पाँच मेट्रिक टन जटामसीबाट ६३ लाख ८० हजार रुपैयाँ आम्दानी भएको छ।

यसबाहेक २६ मेट्रिक टन चुत्रो (११ लाख ४१ हजार रुपैयाँ), २२ मेट्रिक टन नागबेली पाउडर (१० लाख १८ हजार रुपैयाँ), आठ मेट्रिक टन अमला (आठ लाख ६७ हजार रुपैयाँ) र दुई मेट्रिक टन टिमुर (आठ लाख रुपैयाँ) निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ।

स्वदेशी जडीबुटीको प्रशोधन र बजारीकरणमा सरकारी तवरबाट थप सहजीकरण हुन सके पूर्वी नाकाबाट जडीबुटी निर्यात अझै बढाउन सकिने सरोकारवालाहरू बताउँछन्।