काठमाडौं। सडक विभागले कर्णाली, भेरी, त्रिशुली (मुग्लिन) र मर्स्याङ्दी नदीमाथिका चार ठूला पुलको विस्तृत संरचनात्मक परीक्षण गर्ने भएको छ।
विभागले विश्व बैंकको सहयोगमा संचालन भइरहेको तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम (बीआईएमपी-३) अन्तर्गत चार ठूला पुलको अवस्था परीक्षण गर्ने भएको हो। यसका लागि परामर्शदाता छनोट गर्न आह्वान गरिएको आशयपत्र (ईओआई)को म्याद थप गरिएको छ।
विभागअन्तर्गतको पुल शाखाले ईओआई पेस गर्ने अन्तिम म्याद भदौ १६ गतेसम्म पुर्याएको छ। यसअघि भदौ २ गतेसम्म समय दिइएको थियो।
विश्व बैंकबाट प्राप्त १५ करोड अमेरिकी डलर अर्थात करिब नेपाली २३ अर्ब रुपैयाँ ऋण सहयोगमा संचालन भइरहेको बीआईएमपी-३ अन्तर्गत ४ पुलको विस्तृत संरचनात्मक निरीक्षण तथा मर्मत र पुनर्स्थापना आवश्यकता पहिचान गर्न परामर्श सेवा लिन लागिएको हो।
पुल पूर्वाधारलाई थप सुरक्षित, दिगो र जोखिम प्रतिरोधी बनाउनुका साथै विभागको पुल व्यवस्थापन क्षमता सुदृढ गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।
परामर्श सेवाअन्तर्गत कर्णालीको चिसापानी पुल, भेरी नदीको पुल, त्रिशुली नदीको मुग्लिन पुल र मर्स्याङ्दी नदीको आँबुखैरेनी पुलको स्थलगत निरीक्षण गरिनेछ।
निरीक्षणबाट पुलको वर्तमान अवस्था, क्षति तथा जीर्णताको स्तर पहिचान गरी मर्मत, सुदृढीकरण वा पुनर्स्थापना गर्न सिफारिस गरिनेछ।
विभागले परम्परागत स्थलगत निरीक्षणसँगै ड्रोन प्रविधि प्रयोग गर्ने भएको छ। पहुँच कठिन वा जोखिमपूर्ण क्षेत्रमा रहेका केबल, सस्पेन्डर, पाइलन तथा टावर, स्टिफेनिङ ट्रस, डेकको तल्लो भाग, बेयरिङ र एंकरज क्षेत्रलगायत संरचना ड्रोनमार्फत निरीक्षण गरिने भएको हो।
पुलको अवस्थालाई थप स्पष्ट रुपमा अभिलेख गर्न ३डी फोटो ग्रामेट्रिक ‘डिजिटल ट्विन’समेत तयार गर्ने योजना छ।
निरीक्षणबाट प्राप्त फोटो, भिडियो, मापन तथा जियोरेफरेन्स गरिएको क्षति नक्साङ्कनलाई एकीकृत गरी प्रत्येक पुलको ‘बेसलाइन कन्डिसन’ तयार गरिनेछ। त्यसपछि पुलको भारवहन क्षमता मूल्यांकन गरिनेछ।
अध्ययनका लागि छनोट गरिएको कर्णाली नदीको चिसापानी पुल नेपालकै एकमात्र केबल-स्टेड पुल हो। १९९३ डिसेम्बर १२ मा संचालनमा आएको यो पुल ५०० मिटर लामो छ।
एउटै पाइलन टावरमा आधारित पुलको मुख्य स्पान ३२५ मिटर र अर्को स्पान १७५ मिटर छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत लुम्बिनी र सुदूरपश्चिमलाई जोड्ने पुल जापानको कावासाकी हेभी इन्डस्ट्रिजले गरेको हो।
भेरी नदीको पुलमा मुख्य स्पान १२० मिटर छ। यो रत्न राजमार्गअन्तर्गत पर्छ। त्यस्तै मुग्लिनको त्रिशुली नदीमाथिको पुल १२५ मिटर मुख्य स्पान भएको सस्पेन्सन पुल हो, जुन पृथ्वी राजमार्गमा पर्छ। यो पुल सन् १९७२ मा चीन सरकारको सहयोगमा निर्माण भएको हो।
मर्स्याङ्दी नदीको आँबुखैरेनी पुलको मुख्य स्पान १२० मिटर छ। सस्पेन्सन प्रविधिमा बनेको आँबुखैरेनी-गोरखा सडकमा पर्ने यो पुल सन् १९८८ मा निर्माण सम्पन्न भएको हो।
मर्मतका लागि प्राथमिकता निर्धारण गरिने
अध्ययनपछि पुलको मर्मत तथा पुनर्स्थापनाका कामलाई प्राथमिकताका आधारमा वर्गीकरण गरिनेछ। संरचनात्मक सुरक्षामा तत्काल असर पार्ने समस्या भए सुधारका उपाय अघि बढाइनेछ।
परामर्शदाताले मर्मत, पुनर्स्थापना, सुदृढीकरण तथा आवश्यक संरचना प्रतिस्थापनका लागि विस्तृत डिजाइन, लागत अनुमान, प्राविधिक स्पेसिफिकेसन र कार्यान्वयनका लागि आवश्यक मापदण्डसमेत तयार गर्नेछ।
छनोट हुने कम्पनीले परामर्श सेवा सात महिनाभित्र दिनुपर्नेछ। पहिलो महिनामा योजना तथा परिचालन, दोस्रो महिनामा स्थलगत संरचनात्मक निरीक्षण, लक्षित परीक्षण र ३डी फोटो ग्रामेट्रिक विवरण संकलन, चौथो महिनासम्म निरीक्षण तथा परीक्षणको विश्लेषण, पाँचौं महिनामा अवस्था मूल्यांकन र मर्मत डिजाइन, छैटौं महिनामा लागत अनुमान तथा प्राविधिक स्पेसिफिकेसन र सातौं महिनामा अन्तिम प्रतिवेदन तयार गर्ने तालिका छ।









