काठमाडौं। सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदालाई अन्तिम रुप दिएको छ। ऊर्जा मन्त्रालयले जेठ तेस्रो साता तयार पारेको मस्यौदालाई सरकारले बल्ल अन्तिम रुप दिएको हो।
कानुनमन्त्री सोविता गौतमले विधेयकको मस्यौदा अब केही दिनमै मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरी संसद्मा पेस गर्ने जानकारी दिएकी छन्।
‘नेपालको प्राकृतिक स्रोत र सम्भावना केवल सम्भावनामै सीमित नरहोस्, त्यसलाई कानुनी संरचना, संस्थागत व्यवस्था र प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको जीवन र राष्ट्रिय अर्थतन्त्रसँग जोड्न सकियोस् भन्ने उद्देश्यका साथ नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तयार गरिएको छ। केही दिनमै मन्त्रिपरिषद्मा पेस गरी संसद्मा दर्ता गरिनेछ,’ उनले भनिन्।
ऊर्जा मन्त्रालयले विधेयकको मस्यौदा जेठ १९ गते आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सरोकारवालासँग सुझाव मागेको थियो।
मस्यौदालाई कानुन मन्त्रालय र ऊर्जा मन्त्रालयका अधिकारीले पटक पटक छलफल गरेर अन्तिम रुप दिएका हुन्। छलफलमा कानुनमन्त्री गौतम र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पनि सहभागी भएका थिए।









