सरकारी कर्मचारी सबैलाई अबदेखि पाक्षिक तलब, ग्रेडवृद्धिले पेन्सन वितरणमा ढिलाइ



बिजमाण्डू
२०८३ भदौ २ गते १३:१९ | Aug 18, 2026
सरकारी कर्मचारी सबैलाई अबदेखि पाक्षिक तलब, ग्रेडवृद्धिले पेन्सन वितरणमा ढिलाइ


काठमाडौं। संघीय सरकार मातहतका सबै कर्मचारी/पदाधिकारीलाई भदौबाट १५ दिनमा तलब भुक्तानी गर्न सकिने प्रणाली तयार पारिएको छ।

Tata
GBIME

वैशाखदेखि अर्थ मन्त्रालय र मातहतका कार्यालयमा सुरु गरिएको पाक्षिक तलब भुक्तानी भदौदेखि भने संघ मातहतका सबै सरकारी कार्यालयमा विस्तार हुने भएको हो।

यही जानकारीसहित महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई परिपत्र गरिसकेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पाक्षिक तलबभत्ता भुक्तानी गर्न इच्छुक निकाय प्रमुखले पत्राचार गर्नुपर्नेछ। त्यसपछि पाक्षिक भुक्तानी प्रणालीमा आबद्ध गराइने महालेखाले जनाएको छ।

साउनदेखि कर्मचारीको तलब र निवृत्तभरण रकम पनि वृद्धि भएको छ। ग्रेडवृद्धिको विवरण ढिला प्राप्त भएकाले पेन्सन वितरण भने केही पछि धकेलिएको छ।

निवृत्तभरण व्यवस्थापन कार्यालयका प्रमुख नवराज नेपालका अनुसार साउन अन्तिम सातामात्रै बैंकमा निवृत्तभरणको रकम पठाउन थालिएको थियो।

‘ग्रेडवृद्धिको विवरण ढिला प्राप्त भयो। त्यसपछि केही दिन हामीलाई पनि समय लाग्यो। हामीले साउन अन्तिमसम्म बैंकमा पठाइसकेका छौं। बैंकहरूले त्यसपछि १/२ दिन लगाउने हुँदा हिजोआजमा लगभग सबैलाई दिइसकेको हुनुपर्छ,’ उनले भने।