काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-४ बस्ने बर्दियाको बासगढी नगरपालिका-५ घर भएकी २९ वर्षीया रेश्मा क्षेत्री र काठमाडौं शंखरापुर नगरपालिका-८ बस्ने ५० वर्षीय रंजित केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
रेश्माले ग्रीस पठाइदिने भन्दै २ जनाबाट १२ लाख रूपैयाँ र रंजितले अस्ट्रेलिया पठाइदिने भन्दै १ जनाबाट १ लाख ३८ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रेश्मालाई बुढानिलकण्ठ-८ बाट आइतबार र रंजितलाई काठमाडौं-१२ बाट सोमबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।









