रास्वपा सांसद न्यौपानेले उठाए विराजभक्तको क्षमतामाथि प्रश्न, ‘विद्युत् उत्पादनको रोडम्याप खोइ?’



बिजमाण्डू
२०८३ भदौ २ गते १२:१४ | Aug 18, 2026
रास्वपा सांसद न्यौपानेले उठाए विराजभक्तको क्षमतामाथि प्रश्न, ‘विद्युत् उत्पादनको रोडम्याप खोइ?’


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद श्रीराम न्यौपानेले ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको क्षमतामाथि प्रश्न उठाएका छन्।

Tata
GBIME

उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा विद्युत उत्पादन १० वर्षमा ३० हजार मेगावाट पुर्‍याउने स्पष्ट रोडम्याप चार महिनासम्म तयार गर्न नसकेको भन्दै ऊर्जामन्त्रीको क्षमतामाथि प्रश्न उठाएका हुन्।

उनले देशभित्र विद्युत उत्पादनको अपार सम्भावना रहेको र निजी क्षेत्र लगानीका लागि तयार रहेको अवस्थामा पनि सरकारले ठोस योजना बनाउन नसकेको बताए।

‘स्रोत छ, प्रविधि छ, जनशक्ति छ। निजी क्षेत्र तयार पनि छ। अभाव केवल स्पष्ट ऊर्जा दृष्टि ठोस योजना र प्रभावकारी कार्यान्वयनको छ। १० वर्षमा ३० हजार मेगावाट उत्पादन पुर्‍याउने स्पष्ट रोडम्याप चार महिनासम्म तयार हुन नसक्नुले समस्या इच्छाशक्ति र नेतृत्वको हो भन्ने प्रस्ट हुन्छ,’ उनले भने।

प्रतिनिधि सभाको मंगलबारको बैठक। तस्बिर : रासस

सांसद न्यौपानेले देशैभर खाना पकाउने ग्यासको हाहाकार रहेको विषय उठान गर्दै विद्युतबाट ग्यासलाई प्रतिस्थापन गर्न सकिने भए पनि त्यसतर्फ सरकारको ध्यानै नगएको बताए।

उनका अनुसार भान्सामा बिजुलीको प्रयोग गर्दा वार्षिक ६० अर्ब रुपैयाँको ग्यास आयात घटाउन सकिन्छ।

‘भान्सामात्र विद्युतीय बनाउँदा १२ अर्बको वन र काठ जोगिन्छ। ६० अर्बको ग्यास आयात रोकिन्छ। गुइँठा नबाल्दा साढे २ अर्बको जैमल उघ्रिन्छ। ६ हजार मेगावाट बिजुलीको खपत बढ्छ,’ उनले भने, ‘समस्या ग्यासको होइन। ९५ प्रतिशत नेपाली भान्सालाई आयातित ग्यास, दाउरा र गुइँठाबाट मुक्त गरी स्वच्छ विद्युतीय भान्सातर्फ लैजाने ऊर्जा तथा जलस्रोत नीति, कानुन र सोचको अभाव हो।’

उनले ग्यासका लागि उपभोक्ताले आफूहरुलाई बारम्बार फोन गरिरहेको भन्दै यस्तो स्थिति आउनु विडम्बनापूर्ण भएको बताए।