काठमाडौं। सिरहाका गणेश यादवको मृत्यु प्रहरीकै गोलीबाट भएको सरकारी छानबिन समितिले बताएको छ।
समितिले भेटिएका प्रमाण, प्रत्यक्षदर्शी र घाइतेसँगको कुराकानी तथा अन्य प्राविधिक पक्ष केलाउँदा गोली प्रहरीबाट नै चलेको देखिएको निष्कर्ष सहितको छानबिन प्रतिवेदन मंगलबार गृह मन्त्रालयमा बुझाएको छ।
सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा साउन १४ गते भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा औरही गाउँपालिका-२ का १५ वर्षीय गणेशको गोली लागेर मृत्यु भएको थियो।
गोली कसले चलायो भन्नेमा विभिन्न आशंका गरिएको थियो। ‘प्रहरीको गोलीले नै गणेशको मृत्यु भएको देखिएको छ,’ समितिका एक सदस्यले भने, ‘नेपाल प्रहरीका निरीक्षकको हतियारबाट गोली चलेको खुलेको छ।’
तर घटनास्थलबाट गोलीको खोका भने बरामद भएको छैन। ‘खोका देखिएन। तर, अन्य प्रमाणले प्रहरीकै गोली भएको पुष्टि गरेको छ,’ समितिका ती सदस्यले भने।
घटनापछि साउन १६ गते गृह मन्त्रालयले सहसचिव पुष्पराज शाहीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिमा नेपाल प्रहरीका एसपी मोहन थापा, सशस्त्र प्रहरीका एसपी नरेश भण्डारी, नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका डीएसपी पवन ढुङ्गाना र गृह मन्त्रालयका उपसचिव कुलेश्वर अर्याल सदस्य थिए। समितिका सदस्यले घटनास्थल पुगेर अनुसन्धान गरेका थिए।









