काठमाडौं । जलविद्युत उत्पादनमा निजी क्षेत्रको योगदान ८३.९६ प्रतिशत पुगेको छ। नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्रको योगदान ८३.९६ प्रतिशत पुगेको हो।
आर्थिक वर्ष २०८२/८३ को नेपालको कुल जडित विद्युत उत्पादन क्षमता ४ हजार १२० मेगवाट पुगेको छ। जसमा निजी क्षेत्रका आयोजनाको कुल जडित क्षमता ३ जहार ४५९ मेगावाट रहेको छ।
प्राधिकरणले मुलुकको समग्र ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट प्रबर्धन गरिएका आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) गर्दै आएको छ।
आर्थिक वर्ष २०८२/८३ मा मात्र ५२९ मेगावाट विद्युत उत्पादन राष्ट्रिय प्रणालीमा थप भएको छ। स्वतन्त्र विद्युत उत्पादकद्वारा विकास गरिएका २३ वटा नयाँ आयोजना संचालनमा आएका छन्। जसबाट कुल क्षमता ५२८.९९ मेगावाट थप भएको छ।
यससँगै संचालनमा रहेका निजी क्षेत्रका आयोजनाको संख्या २२७ पुगेको छ। ती आयोजनाको कुल जडित क्षमता ३ हजार ४५९ मेगावाट पुगेको हो।
हाल वित्तीय व्यवस्थापन सम्पन्न भएर ६ हजार ४७२.२१ मेगावाट कुल जडित क्षमता भएका २१३ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। २ हजार २०० मेगावाटभन्दा बढीका १०५ वटा आयोजनाहरू विकासका विभिन्न चरणमा रहेका छन्। प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ५४ वटा नयाँ विद्युत खरिद सम्झौता गरेको छ।
तीमध्ये ५ वटा जलविद्युत आयोजनाहरूबाट २८.६ मेगावाट र ४९ वटा सौर्य विद्युत आयोजनाहरूबाट ६७५ मेगावाट बराबरको विद्युत खरिद सम्झौता गरेको हो।
यससँगै स्वतन्त्र विद्युत उत्पादकहरूसँग प्राधिकरणले गरेको कुल विद्युत खरिद सम्झौताको संख्या ५४५ पुगेको छ भने ती आयोजनाको कुल क्षमता १२ हजार १३५ मेगावाट पुगेको छ।
ऊर्जा उत्पादनमा निजी क्षेत्रको उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै प्रसारण लाइन आयोजनाको विकासमा समेत निजी क्षेत्रलाई बुट मोडलमा सहभागी गराउने नीति अघि बढाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यसका लागि सरकारले स्वीकृत गरेको प्रसारण आयोजना सम्बन्धी शुल्कमा आधारित प्रतिस्पर्धात्मक बोलपत्र ढाँचा अन्तर्गत चारवटा प्रसारण लाइन आयोजना निर्माणका लागि इच्छुक प्रसारण सेवा प्रदायकहरूबाट आशय पत्र प्राप्त भई मूल्यांकनको चरणमा रहेको छ।










