काठमाडौं। बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गरिने भएको छ। यसका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ।
भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पुर्याउन कठिन भएपछि टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत सामग्री बडीमालिका पुर्याएको हो।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले यही साउन ८ गते टेलिकमलाई बडीमालिकामा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।

मन्त्रीको निर्देशनपछि मन्त्रालयले टेलिकमसँग निरन्तर समन्वय गर्दै सेवा विस्तारका लागि आवश्यक पूर्वाधार, उपकरण ढुवानी र जडान प्रक्रियालाई तीव्रता दिएको उनको सचिवालयले जनाएको छ।
टेलिकमकका सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माले साउन १८ गतेदेखि नै सामग्री बडीमालिका लाने प्रयास गरे पनि प्रतिकूल मौसमका कारण समय लागेको बताए। उनका अनुसार खराब मौसमका कारण जडानस्थलमा खटाइएको प्राविधिक टोलीसमेत फिर्ता बोलाउनुपरेको थियो।

शर्माले मंगलबार हेलिकप्टरबाट सामग्री बडीमालिका पुर्याइए पनि जडानस्थलसम्म करिब चार हजार किलोग्राम उपकरण तथा अन्य सामग्री जनशक्तिमार्फत् बोकाएर लैजानुपर्ने अवस्था रहेको जानकारी दिए।
उनका अनुसार सामग्री जडानस्थलसम्म पुर्याउने, उच्च उचाइमा काम गर्न सक्ने जनशक्ति व्यवस्थापन गर्ने र स्थानीय तहबाट आवश्यक सहयोग जुटाउने विषयमा बडीमालिका र त्रिवेणी नगरपालिकाका प्रमुखसँग समन्वय भइरहेको छ।
जडानस्थलमा आवश्यक सबै सामग्री पुगेपछि पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने टेलिकमले जनाएको छ।
बडीमालिका मन्दिर क्षेत्र समुद्री सतहबाट करिब४२०० मिटरको उचाइमा छ। टेलिकमले बडीमालिका क्षेत्रमा प्रारम्भिक चरणमा फोरजी सेवा सञ्चालन गर्ने तयारी गरेको छ।









