बढ्यो अण्डाको भाउ : प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो, किसानले अझै पाएनन् लागत मूल्य



बिजमाण्डू
२०८३ साउन २६ गते ०८:१५ | Aug 11, 2026
बढ्यो अण्डाको भाउ : प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो, किसानले अझै पाएनन् लागत मूल्य


काठमाडौं । बर्डफ्लू संक्रमण कम भएसँगै अण्डाको माग बढेको छ। त्यससँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्।

Tata
GBIME

नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरि अण्डाको समर्थन मूल्य बढाएको हो। संघका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५०० रुपैयाँ र सानो अण्डाको तीन हजार रुपैयाँ प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको संक्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढेको छ। माग बढेसँगै अण्डाको मूल्य बढेको उनले बताए।

फार्महरुले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उनी बताउँछन्। मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उनको भनाइ छ।

अण्डाको लागत मूल्य प्रतिगोटा १९.१२ रुपैयाँ र प्रतिक्रेट मूल्य ५७३.६ रुपैयाँ हुन आउँछ।

बर्डफ्लुका कारण किसानले ठूलो क्षति ब्यहोर्नु परेको छ। लागत मूल्य पाउन नसकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन थालेको पोखरेल बताउँछन्।

पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लग्नुलगायत कारााले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायीले बताउँदै आएका छन्। बर्डफ्लुका कारण केही किसानको कुखुरा मरेका थिए भने कुखुरा हुनेहरुले अण्डाको मूल्य नपाउँदा ठूलो नोक्सानी ब्यहोर्नु परेको पोखरेलले जानकारी दिए। रासस