काठमाडौं। वित्तीय अपराध र अनलाइन ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरी अनुसन्धानको परम्परागत शैलीबाट अघि बढेर छुट्टै संयन्त्र निर्माण गर्ने तयारीमा जुटेको छ।
‘स्क्याम’ भएको जानकारी प्राप्त हुँदासम्म रकम एउटा खाताबाट अर्को खातामा पुगिसक्ने र त्यसपछि रकमको ट्रेल पछ्याउन कठिन हुने समस्या समाधान गर्न प्रहरीले ‘एन्टी साइबर स्क्याम सेन्टर’ (एसीएससी) स्थापना प्रस्ताव अघि बढाएको हो।
पछिल्लो समय साइबर अपराधभित्र आर्थिक ठगी र स्क्यामका घटना उल्लेख्य रूपमा बढेका छन्। प्रहरीको वार्षिक तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै देशभर अनलाइन स्क्यामका ७ हजार ४ सय १० घटना भएका छन्।
सामाजिक सञ्जाल, डिजिटल वालेट, बैंकिङ प्रणाली र विभिन्न अनलाइन माध्यम प्रयोग गरी सर्वसाधारणबाट ठूलो रकम ठगी हुने क्रम बढेपछि प्रहरीमाथि यस्ता अपराध नियन्त्रण र अनुसन्धानको दबाब थपिएको छ।
नेपाल प्रहरीका डीआइजी अविनारायण काफ्ले प्रविधिको प्रयोगबाट हुने स्क्याम नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउँछन्। उनका अनुसार पछिल्लो समय मानिसको लाखौँ रुपैयाँ केही मिनेटमै अर्को व्यक्तिको खातामा पुग्ने र तत्कालै अन्य खातामा स्थानान्तरण हुने भएकाले अनुसन्धान जटिल बनेको छ।
‘साइबर जोडिएका विषय चुनौतीपूर्ण छन्। झन् प्रविधिको प्रयोगले हुने स्क्यामका घटना डर लाग्दा भएका छन्। मानिसको लाखौँ रुपैयाँ मिनेटमै गुमेको अवस्था छ,’ उनले भने।
प्रहरीले तयार पारेको प्रस्तावको मस्यौदा गृह मन्त्रालयमा बुझाइसकेको छ। प्रस्तावअनुसार नेपाल प्रहरीको साइबर ब्युरो रहेको कार्यालयमा एसीएससीको डेस्क स्थापना गरिनेछ। केन्द्रमा नेपाल राष्ट्र बैंक, २० वटा वाणिज्य बैंक, नेपाल दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायकका प्रतिनिधि रहनेछन्।
प्रस्तावित संयन्त्रले चौबिसै घण्टा काम गर्नेछ। एक सिफ्टमा २४ जना रहने र तीनवटा टोली बनाएर सेवा सञ्चालन गर्ने तयारी छ।

प्रहरीका अनुसार स्क्यामको सूचना प्राप्त हुनेबित्तिकै रकम कुन खातामा पुग्यो, कहाँ स्थानान्तरण हुँदैछ र कसरी रोक्न सकिन्छ भन्ने काम तत्काल गर्नुपर्ने हुन्छ। त्यसका लागि प्रहरी, बैंक, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक छुट्टाछुट्टै संयन्त्रबाट काम गर्नुभन्दा एउटै डेस्कबाट समन्वय गर्दा ठगी भएको रकम रोक्न र अपराधीको डिजिटल ट्रेल पछ्याउन सहज हुने अपेक्षा गरिएको छ।
बैंक खाता समेत भाडामा !
अनलाइन स्क्यामको घटना बढेको देखिएको प्रहरीको तथ्यांकमा अन्तका तुलनामा सबैभन्दा धेरै काठमाडौं उपत्यकाभित्र देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा काठमाडौंमा आएका उजुरीमध्ये २१ प्रतिशत अनलाइन ठगीसम्बन्धी छन्।
एक वर्षमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कुल ११ हजार ७८ उजुरी दर्ता हुँदा अनलाइन ठगीका मात्रै २ हजार ३ सय २५ वटा छन्। साइबरअन्तर्गतका स्क्यामदेखि अन्य ठगीका घटनामा एक वर्षमा १५ करोड ३३ लाख ९४ हजार ४ सय रुपैयाँ ठगी भएको उजुरी परेको थियो।
प्रविधिसँग जोडिएको विषय र विभिन्न निकायको सहयोगमा अनुसन्धान गर्नुपर्ने हुँदा खाताबाट रकम गुमिसकेको अवस्था छ। त्यसैले प्रहरीले यस्ता अनुसन्धान गरेपनि पीडितले राहतको महसुस गर्न पाएका छैनन्।
त्यस्तै, यस्ता ठगी तथा स्क्याममा विदेशबाट नै हुने गरेको समेत देखिन्छ। तर, रकम पठाउने खाता भने नेपालीकै प्रयोग गरेका छन्। भाडामा लिएर समेत नेपालीको बैंक खाता प्रयोग भएको छ।
‘ठगिएको रकम पठाउन नेपालीको खाता भाडामा लिने गरिएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले भने।
चितवनमा एक वर्षमा १२ करोड २२ लाख ठगी
चितवनमा एक वर्षमा अनलाइन ठगीका ५ सय २१ निवेदन दर्ता भएका छन्। गत आर्थिक वर्षमा अनलाइनमार्फत १२ करोड २२ लाख ८४ हजार ३३८ रुपैयाँ ठगी भएको छ।
ठगिएकोमध्ये २ करोड २९ लाख ९८ हजार ६४३ रुपैयाँ प्रहरीले सम्बद्ध पीडितलाई फिर्ता पनि गराएको छ।
पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिंक पठाएर ठगी गर्ने गरिएको घटना धेरै भएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अनलाइन ठगीका निवेदन दैनिकजसो आउने गरेको छ।
सामान्य रुपमा २०० रुपैयाँदेखि लाखौंसम्मको ठगीको उजुरी आउने गरेका छन्। गत आवमा साइबर क्राइमसम्बन्धी ३९० निवेदन दर्ता भएका छन्।









