कोशीमा गाँजाको बाढी : फडानी अभियानबीच पनि दिनदिनैजसो ठूलो परिमाणमा बरामद



बिजमाण्डू
२०८३ साउन २३ गते १३:४२ | Aug 8, 2026
कोशीमा गाँजाको बाढी : फडानी अभियानबीच पनि दिनदिनैजसो ठूलो परिमाणमा बरामद


काठमाडौं। कोशी प्रदेशमा प्रहरीले गाँजा ओसारपसारविरुद्ध अभियान तीव्र बनाइरहे पनि ठूलो परिमाणमा गाँजा बरामद हुने क्रम रोकिएको छैन। पछिल्ला दिनमा सुनसरी, सप्तरी, सिरहा र खोटाङमा गरी झन्डै २ टन गाँजा बरामद भएको छ भने धनकुटा र भोजपुरका पहाडी क्षेत्रमा प्रहरीले सयौँ गाँजाका बोट र बेर्ना फडानी गरी नष्ट गरेको छ।

Tata
GBIME

सुनसरीको बराहक्षेत्रबाट शुक्रबार प्रहरीले ४१८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ। बराहक्षेत्र–१ स्थित गुप्त बराह नजिकै बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरिएको गाँजा फेला पारेको हो।

पक्राउ पर्नेमा धरान–१३ का ३४ वर्षीय थमन राई, ओखलढुंगाको मानेभञ्ज्याङ-५ की २२ वर्षीया जीवनी राई, मोरङको कटहरी-३ का २६ वर्षीय अमर कामत र सोही ठाउँका ३८ वर्षीय शंकर चौधरी छन्।

यसअघि बिहीबार खोटाङको दिक्तेल रूपाकोट मझुवागढी–७ वालिङस्थित जंगलबाट प्रहरीले १ हजार ३१५ किलो गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले मध्यपहाडी लोकमार्गमा रोकिराखेको प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रक जाँच गर्दा चालक बस्ने भाग र पछाडिको ढालाबीच लुकाइछिपाइ राखिएको गाँजा फेला परेको हो। प्रहरीले ट्रक चालकलाई भने भेटेको छैन।

यसअघि सप्तरीको राजगढ–१ कजराहा टोलस्थित पश्चिमतर्फ नहरको छेउबाट पनि १९० किलो ५२० ग्राम बेवारिसे गाँजा बरामद भएको थियो। प्रहरी चौकी झुट्की र सशस्त्र प्रहरी बल बनेनिया बेस क्याम्पबाट खटिएको संयुक्त टोलीले गस्तीका क्रममा पाँचवटा बोरामा राखिएको गाँजा फेला पारेको हो।

सिरहामा भने ९१ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्। सखुवानान्कारकट्टी–४ सिमरास्थित बलान खोलामा पाँच जनाले गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले देखेपछि उनीहरूले बोरा फालेर भागेका थिए। प्रहरीले भगवानपुर-४ जमुवा टोलका करिब ४३ वर्षीय मोहन साहलाई पक्राउ गरेको छ। घटनामा संलग्न चार जना फरार छन्।

गाँजा ओसारपसार नियन्त्रणका लागि प्रहरीले पहाडी जिल्लामा गाँजा फडानी अभियान पनि चलाइरहेको छ। धनकुटाको शहीदभूमि–२ का विभिन्न स्थानमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले तीन रोपनी क्षेत्रफलमा रहेका १ हजार ६ सय गाँजाका बेर्ना तथा बोट फडानी गरी जलाएर नष्ट गरेको छ।

यसअघि धनकुटा नगरपालिका–९ का विभिन्न स्थानमा तीन रोपनी क्षेत्रफलमा रहेका पाँच सय गाँजाका बोट फडानी गरिएको थियो। त्यस्तै शहीदभूमि गाउँपालिका–७ मा तीन दशमलव पाँच रोपनी क्षेत्रफलमा रहेका सात सय ५० गाँजाका बेर्ना तथा बोट नष्ट गरिएको थियो।

धनकुटामै साउन २१ गते भेडेटारबाट विराटनगरतर्फ जाँदै गरेको ट्रकबाट ६४७ किलो गाँजा बरामद भएको थियो। ना.३ ख ५०९५ नम्बरको ट्रकमा कालो प्लास्टिकमा प्याक गरी ४८ वटा पोकामा लुकाइएको गाँजा बरामद भएपछि चालक मकवानपुरका २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाका ३६ वर्षीय तुलराम राई पक्राउ परेका थिए।

त्यसअघि साउन १७ गते धनकुटाको चौबिसे गाउँपालिका–४ बाट ८०४ किलो गाँजा बरामद भएको थियो। घटनामा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरिप्रसाद ओझा र ३४ वर्षीय आशिष विश्वकर्मा पक्राउ परेका थिए।

साउन १५ गते मोरङको रतुवामाई–१० सोमबारेमा उर्लाबारीतर्फबाट आउँदै गरेको मिनी ट्रकबाट धानको भुसका बोरामुनि लुकाइएका ३१ बोरामा १ हजार ३३ किलो गाँजा बरामद भएको थियो। घटनामा ट्रक चालक धनकुटाको पाख्रिबास–९ का २८ वर्षीय उमेश तामाङ पक्राउ परेका थिए।

गाँजा फडानी अभियान भोजपुरमा पनि निरन्तर छ। साउन १२ गते हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न डाँडा–पाखामा करिब चार रोपनी क्षेत्रफलमा रहेका १ हजार १५० गाँजाका बेर्ना तथा बोट फडानी गरी नष्ट गरिएको थियो।

त्यसअघि साउन ९ गते सोही क्षेत्रका करिब तीन रोपनीमा रहेका ४ हजार ५ सय गाँजाका बेर्ना तथा बोट नष्ट गरिएको थियो। साउन ८ गते करिब तीन रोपनी क्षेत्रफलमा रहेका सात सय बोट र साउन ५ गते हतुवागढी गाउँपालिका–८ र ९ का डाँडा–पाखामा करिब तीन रोपनी क्षेत्रफलमा रहेका २ हजार ९० गाँजाका बेर्ना तथा बोट फडानी गरिएको थियो।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१२ स्थित बारीमा आफैँ उम्रिएका ६० वटा गाँजाका बोटसमेत प्रहरीले फडानी गरी नष्ट गरेको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार गत असारमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट १ हजार ८९३ किलो गाँजा बरामद भएको थियो। गाँजा ओसारपसारमा प्रयोग भएका सातवटा सवारीसाधन नियन्त्रणमा लिइएका थिए भने संलग्न आरोपमा १६ जना पक्राउ परेका थिए।

तर, पहाडी जिल्लामा प्रहरीको फडानी अभियान निरन्तर चलिरहँदा पनि गाँजाखेती र यसको ओसारपसारमा कमी आएको देखिएको छैन। लगातारका बरामदी घटनाले कोशी प्रदेशमा गाँजाको उत्पादन, भण्डारण र एक ठाउँबाट अर्को ठाउँमा ओसारपसारको सञ्जाल अझै सक्रिय रहेको संकेत गर्छ।

प्रहरीले खेती गरिएका तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट फडानी गरिरहेको छ भने अर्कोतर्फ सयौँ किलोदेखि एक टनभन्दा बढी गाँजा एकैपटक बरामद भइरहेका छन्। यसले गाँजा नियन्त्रणमा फडानीसँगै यसको उत्पादन, संकलन, ढुवानी र कारोबारमा संलग्न सञ्जाल पहिचान गरी कारबाही गर्नुपर्ने चुनौती देखाएको छ।