नयाँ व्यवस्थाले बढ्यो सुन तस्करी, वैदेशिक रोजगारीमा गएकाहरू चंगुलमा फस्दा रुवाबासी



सविन ढकाल
२०८३ साउन २१ गते ०६:१५ | Aug 6, 2026
नयाँ व्यवस्थाले बढ्यो सुन तस्करी, वैदेशिक रोजगारीमा गएकाहरू चंगुलमा फस्दा रुवाबासी


काठमाडौं। गत सोमबार एक महिला दुबई हुँदै काठमाडौंको विमानस्थल ओर्लिइन्। वैदेशिक रोजगारीबाट घर आएकी उनी त्रिभुवन विमानस्थलको भन्सार क्षेत्र हुँदै बाहिरिने प्रक्रियामा रहँदा बाहिर आफन्तहरू पर्खेर बसेका थिए।

Tata
GBIME

वर्षौंदेखि छुट्टिएका आफन्त भेट्न उनी पनि व्यग्र थिइन्। बाहिर निस्किँदैगर्दा एकाएक प्रहरी टोली उनीसामु पुग्यो। उनलाई नियन्त्रणमा लियो। यसरी सुरक्षाकर्मीको घेराउमा पर्नुको कारण बन्यो- उनले लगाएको सिक्री।

उनले ५० ग्रामको सिक्री लगाएकी थिइन्। त्यो सिक्री किनेको रसिद पनि उनीसँगै थियो। कानुनत: विदेशबाट नेपाल आउँदा महिलाले ५० ग्रामसम्मको गहना ल्याउन पाउँछन्।

ती महिलाले आफूसँग रहेको बिल देखाइन्। उनको दाबी थियो- ‘सिक्री मेरै हो।’ तर, प्रहरीले अन्य प्रमाण र सत्य स्वीकार्न दबाब दिएपछि भने उनले भनिन्- ‘अरूले पठाएको हो।’

प्रहरीले पहिले नै सूचना पाएको थियो- कानुनी छिद्र प्रयोग गरेर तस्करले नेपालमा सुन भित्र्याइरहेका छन्। त्यही आधारमा प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणलगत्तै विमानस्थलमा सुरु भयो रुवाबासी। आफन्त बाहिर प्रतीक्षामा नै रहे, उनी भित्रै पक्राउ परिन्।

सुरुमा प्रहरीको निष्कर्ष थियो- महिला आफैं सुन तस्करीमा संलग्न छिन्। पछि खुल्यो- उनलाई भरियाका रुपमा तस्करले प्रयोग गरेको हो।

त्यसपछि प्रहरीले उनीसामु एउटा सर्त राख्यो, ‘जसको सामान हो उसलाई बोलाउनुस्, तपाइँलाई छोड्छौं।’

उनले यहाँ आएपछि सम्पर्क गर्नुपर्ने व्यक्तिको नम्बर डायल गरिन्। समातिएको सुन लिन कोही पनि आएनन्।

‘रिसिभरलाई शंका लाग्यो होला र एयरपोर्टमा लिन आएनन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका नेपाल प्रहरीका एसपी राजकुमार सिलवालले भने, ‘त्यसपछि हामीले शंका हटाउन विभिन्न उपायहरू लगायौं।’

महिलाले पटक-पटक फोन गरेपछि सम्पर्कमा आएका व्यक्तिले सुन छोड्नका लागि एउटा ठेगाना दिए। प्रहरीले महिलाको अवस्था बुझिसकेकाले उनलाई सहयोग र ट्रयाकिङ एकैसाथ गरिरहेको थियो।

अन्ततः भनिएकै ठाउँमा ती महिला सुन पुर्‍याउन गइन्। त्यसपछि प्रहरीले सुन बुझ्ने व्यक्तिलाई नियन्त्रणमा लियो। अनुसन्धानमा खुल्यो- ती महिला परिबन्दमा परेकी थिइन्। थोरै रकमको लोभमा उनलाई भरिया बनाइएको थियो।

‘सानोतिनो लोभले अरुको सामान बोक्दा आफैं भन्दामा पर्ने गरेका छन्। त्यसैले सुन र अन्य सामान बुझेर मात्र ल्याउन अनुरोध छ,’ एसपी सिलवालले भने।

दिनभर सुरक्षा नियन्त्रणमा रहेकी ती महिलालाई प्रहरी छोडिदियो। कारोबारीको स्रोतसम्म प्रहरी पुगेकाले उनी त छुटिन् तर त्यस्ता धेरै मानिस छन् जसको बाटो विमानस्थलबाट घर होइन हिरासततिर पुग्ने गर्छ। सँगै, उनीहरूले लाखौं रुपैयाँ तिर्नुपर्ने स्थिति बन्छ।

मंगलबार पनि प्रहरीले यसैगरी अर्काको सुन ल्याउने चार जनालाई नियन्त्रणमा लियो। जसमध्ये एक जनामात्रै छुटे। सामान लिन विमानस्थल पुगेका व्यक्ति समातिएपछि भरिया भएका ती व्यक्ति छुटेका हुन्। बाँकी तीन जनाको भने हिरासततिरको यात्रा तय भयो।

‘तस्करीमा संलग्न व्यक्ति नभेटिएसम्म सुन ओसार्ने व्यक्तिलाई हिरासतमा राख्नुपर्ने कानुनी व्यवस्था हुँदा छोड्न मिल्दैन,’ एसपी सिलवालले भने।

यसरी समातिएका कतिपय व्यक्ति आफ्नै लगानी वा परिवारको सहयोगमा धरौटी राखेर निस्किने गर्छन्। तर, वैदेशिक रोजगारमा गएका धेरैजसो व्यक्ति धरौटी बुझाउन नसक्दा थुनामा पुग्ने गरेका छन्।

अहिले केही परिमाणसम्मको सुन ल्याएको हकमा त्यसैलाई जफत गरेर मानिसलाई छोड्ने विकल्पमाथि पनि बहस सुरु भएको छ। तर, त्यस्तो हुँदा झन् तस्करी बढ्नसक्ने जोखिम देखिन्छ।

वैदेशिक रोजगारीमा फर्किने युवा प्रयोग

असार १५ गते आएको बजेटले स्वदेश फर्किँदा सुनका गहना ल्याउन सजिलो बनाइएको छ। सरकारले तोकिएको परिमाणमा भित्र्याउनका लागि गहनाको वर्गीकरण नगर्ने व्यवस्था गरेपछि सुन ल्याउन सहज बनेको हो।

नयाँ व्यवस्था अनुसार विदेशबाट ल्याएको सुनका गहना जस्तो भए पनि भन्सारबाट सहजै पास हुनेछ। यसअघि विमानस्थल भन्सार कार्यालयले सुनका गहनाको वर्गीकरण गर्ने गरेको थियो।

गहनामा रसायन प्रयोग भए/नभएको पनि हेर्ने गरिएको थियो। अब गहनाका स्वरूपमा भए महिलाका हकमा ५० ग्राम र पुरुषका हकमा २५ ग्रामसम्म सुन भित्र्याउँदा कर तिर्न पर्दैन।

यसअघि अरु कुनै रसायन र जर्ती नहुनेगरी तयार पारिएका बेरुवा औँठी, बाला, सिक्री जस्ता वस्तुलाई गहनाको मान्यता दिइएको थिएन। त्यसैले रसायन प्रयोग भए/ नभएको जाँच हुन्थ्यो।

सुन ल्याउनेहरू परीक्षणका कारण थप समय अडिनुपर्थ्यो। तर, अहिलेको व्यवस्थाले वैदेशिक रोजगारीबाट फर्केकालाई सुन तस्करीको भरिया बनाउन सहज बनाएको छ।

त्रिभुवन भन्सार कार्यालयका प्रमुख रामकृष्ण पुडासैनीका अनुसार पछिल्लो समय वैदेशिक रोजगारबाट फर्केका युवा प्रयोग गरेर सुन ल्याउने प्रवृत्ति बढेको छ।

‘केही समयदेखि यसरी हुने तस्करीको ट्रेन्ड ह्वात्तै बढेको छ। कानुनले अरूको सुन बोक्न दिँदैन। त्यसैले बाध्य भएर बोक्नेहरूलाई कारबाही गर्ने अवस्था छ,’ उनले भने।

५० ग्रामभन्दा बढी थप ५० ग्राम भए प्रचलित दर अनुसारको महसुलका साथै थप ३ प्रतिशत कर लाग्ने व्यवस्था छ।

सरकारले तोकेको मात्रामा धेरैजनालाई बाँडेर सुन ल्याउँदा करमुक्तिले फाइदा हुने भएपछि तस्करीको यस्तो रवैया अपनाउँदै सुन भित्र्याउन थालेका हुन्। आन्तरिक बजारमा किनबेच हुने सुन वाणिज्य बैंकहरूले आयात गर्छन्। सुन व्यवसायीले पनि बैकसँगै सुन किन्नुपर्छ।

नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन आयातको कोटा तोकेको छ। पछिल्लो समय बैंकमा सुनको माग कम हुनुको पछाडि यस्तै कारण हुनसक्ने आकलन छ।

भन्सार छल्ने रणनीतिअनुसार नै विदेशबाट ल्यापटप, मोबाइल, क्यामराजस्ता साधन पनि भित्रिने गर्छन्। कानुनी बाटो छलेर यस्ता सामान भित्र्याएको पाइएमा त्यसलाई जफत गरिन्छ। यस्तो केसमा ल्याउने व्यक्ति भने पक्राउ पर्दैनन्।

आर्थिक वर्ष ०८१/८२ मा ७० लाख ९२ हजार रुपैयाँ बराबरको सामान प्रहरीले यसैगरी जफत गरेको थियो। आर्थिक वर्ष २०८२/८३ मा भने २ करोड ४८ लाख ११ हजार रुपैयाँको सामान जफत गरिएको छ। यसले तस्करीको ट्रेन्ड उकालो लागेको प्रष्ट देखाउँछ।

सुन धेरैजसो दुबई र कतारबाट फर्किएकाहरुबाट बरामद भएका छन्। प्रहरीको अनुसन्धानले वैदेशिक रोजगारीमा गएका युवा प्रयोग गरी सुन तस्करी गर्ने समूह एउटै रहेको देखाएको छ। र, उनीहरूको शैली पनि उस्तै देखिन्छ।

त्यसैले प्रहरीले विदेशबाट आउने जोकसैलाई पनि तस्करको भरिया नबन्न अनुरोध गर्दै आएको छ। अन्यथा सोमबारको घटनाझैँ आफन्त बाहिर कुरिरहँदा आफू भने प्रहरीको केरकारमा परिने र मुख्य अभियुक्त नभेटिए हिरासतको यात्रातिर जानुपर्ने हुन्छ।