काठमाडौं। नेपाली सेनाले सैनिक कल्याणकारी कोषको रकम राष्ट्रिय विकासमा योगदान पुग्नेगरी परिचालन गर्ने सोच अघि सारेको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले बिहीबार रक्षा मन्त्रालयमा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा कोषको रकम पहिलो चरणमा जलविद्युत् तथा सौर्य ऊर्जामा लगानी गर्ने जानकारी दिए।
‘हाम्रो कल्याणकारी कोषलाई राष्ट्रिय विकासमा योगदान पुग्ने गरी खर्च गर्ने विकल्प खोजिरहेका छौं। यसबाट राष्ट्रको विकास पनि होस् र कल्याणकारी कोषमा रहेको रकमको उचित सदुपयोग पनि होस् भन्ने हाम्रो उद्देश्य हो,’ सिग्देलले भने, ‘त्यसका लागि हामीले प्रयास गरिरहेका छौं। पहिलो चरणमा जलविद्युत् र सौर्य ऊर्जामा लगानी गर्दैछौं। यो सफल भयो भने कोषको रकम विकास निर्माणका काममा लगानी गर्नेछौं।’
कोषको कुल सम्पत्ति हाल करिब ९७ अर्ब छ। त्यसमध्ये ९१ अर्ब विभिन्न बैंकमा राखिएको छ। बैंकको ब्याजदर घटेकाले कल्याणकारी कार्यक्रमको खर्च व्यवस्थापनमा चुनौती भइरहेको प्रधानसेनापति सिग्देलले बताए।










