राजनीतिक परिस्थिति असहज बनेको प्रचण्डको टिप्पणी, ‘बालेन सरकारले अपेक्षा अनुसार काम गरेन’



बिजमाण्डू
२०८३ साउन १४ गते १३:२९ | Jul 30, 2026
राजनीतिक परिस्थिति असहज बनेको प्रचण्डको टिप्पणी, ‘बालेन सरकारले अपेक्षा अनुसार काम गरेन’


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिस्थिति असहज बनेको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै प्रचण्डले तराईं मधेशमा साम्प्रदायिक हिंसा भए पनि सरकार गम्भीर नभएकाले राजनीतिक परिस्थिति अप्ठेरो बनेको बताएका हुन्।

Tata
GBIME

प्रधानमन्त्री बालेन्द्र शाहले राजनीतिक संवाद नै गर्न नचाहेको भन्दै प्रचण्डले संसदमै विरोध जनाए।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यसका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभयो। हामी सबैले उहाँलाई र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि धन्यवाद भन्यौं। तर, साथसाथै हामीले चिन्ता पनि व्यक्त गर्‍यौं। यस खालको असहज परिस्थितिमा सबभन्दा बढी नेतृत्वदायी भूमिका खेल्नुपर्ने संविधान अनुसार प्रधानमन्त्रीले हुन्थ्यो,’ उनले भने।

युद्धलाइ शान्तिमा बदल्न र त्यसपछिका भूकम्प, नाकाबन्दी र संविधान जारीका बेलाको संकट पनि राजनीतिक पलहबाट मात्रै समाधान भएको उनले सम्झाएका थिए।

‘संविधान निर्माणको प्रक्रियाले गति लियो, भूकम्पकाबाट पीडित जनतालाई राहत उद्धार र पुनस्थापना गर्ने कामले पनि गति दियो,’ उनले भने।

जनताको अपेक्षा राजनीति सहज हुने भए पनि अहिलेसम्म सहज नभएको प्रचण्डको भनाइ छ। विगतका बेथिति र अराजकताको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने बताएका प्रचण्डले अहिलेको सरकार चुकिरहेको बताए।

‘जनताको अपेक्षा अनुसार नभएको भन्ने कुरा जताततै सुनिएको छ,’ उनले भने।

उनले आफूले सामान्य आलोचना मात्रै यसअघि संसदमा आफूले राखेको तर सरकार रचनात्मक सुझाव ग्रहण गर्न नचाहेको आरोप पनि लगाएका छन्। लगानी, उत्पादन र रोजगारीको विषयमा पनि जनता सरकारबाट झस्किएको उनको भनाइ छ।

उनले संविधान नै पुर्नलेखन गर्न खोजिएको भन्दै संशय पनि व्यक्त भइरहेको बताए।

‘संविधान संशोधनको कुरा लोकतन्त्र सुदृढीकरणको कुरामा जसरी सरकार प्रस्तुत भयो त्यसले नै कतै संविधान हजारौं बलिदानबाट लामो संघर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्र सहितको संविधानलाई कुनै न कुनै रुपमा पुर्नलेखन गर्न खोजिएको त होइन भन्ने देखियो,’ उनले भने। 

उनले अहिलेको सरकारले पनि सुशासन कायम गर्न नसके देश असफलतातर्फ जाने बताए। सरकारको नीति कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने बेला प्रधानमन्त्री बालेन्द्र शाह निस्किएको घटना समान्य नभएको उनले सम्झाउँदै सरकारले बजेटमा पनि माथिल्लो वर्गको हित मात्रै चिताएको आरोप लगाएका छन्।