काठमाडौं। सरकारले चार जना सचिवको सरुवा गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका डा. कमलप्रसाद पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा गरेर त्यहाँ कार्यरत लक्ष्मीकुमारी बस्नेतलाई तथ्यांक कार्यालय लगिएको छ।
प्रधानमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सातादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अतिरिक्त समूहमा राखिएकी राधिका अर्याललाई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा पुर्याइएको छ। कर्णाली प्रदेशमा सचिवको दरबन्दी रिक्त थियो।
केन्द्रीय निकायमा कार्यरत सचिवलाई प्रदेशमा सरुवा गरिएको यो तेस्रोपटक हो। यसअघि भूपाल बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवबाट गण्डकी प्रदेश र महालेखा नियन्त्रक शोभाकान्त पौडेललाई मधेश प्रदेशमा पठाइएको थियो। भूपाललाई जेठ तेस्रो साता गण्डकीमा पुर्याइएको हो।
२०८० कात्तिक तेस्रो साता सचिवमा बढुवा भएपछि राधिकालाई लुम्बिनी प्रदेश पठाइएको थियो। सचिवमा बढुवापछि पहिलो पोस्टिङ प्रदेशमा गर्ने अभ्यास रहेकामा केन्द्रीय निकायमा सरुवा भएका सचिवलाई यसअघिका सरकारले भने प्रदेशमा पठाउने गरेका थिएनन्।
बागमती प्रदेशका बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अतिरिक्त समूहमा रहने गरी तानेर उनको ठाउँमा कामुको जिम्मेवारी दिएर कमलप्रसाद भट्टराईलाई पठाइएको छ।
भट्टराई शोभाकान्तलाई तीन साताअघि मधेश प्रदेश पठाउनुअघि त्यहाँको मुख्यमन्त्री कार्यालयमा कामु प्रमुख सचिवको जिम्मेवारीमा थिए।









