काठमाडौं। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले विदेशमा रहेका नेपालीले भवट हाल्न पाउने व्यवस्था गर्न सकिने बताएका छन्।
उनले बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा कानुन बनाएर विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था गर्न सकिने बताएका हुन्। उनले विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था गरेर मात्र आफू आयोगबाट बाहिरिने बताए।
‘हामीकहाँ कति मानिस बाहिर छन् भन्ने डेटा छैन। भारतमा नै कति छन् भन्ने डेटा छैन। पहिले संख्या यकिन गर्नुपर्छ,’ उनले भने, ‘आयोगले २०७० देखि नै योजना बनाएको देखिन्छ। कानुन बनाएर विदेशबाट मतदान गराउन सकिन्छ। म विदेशबाट र बेजिल्ला मतदान गराएर तथा बदर मत घटाएर र मतदान बढाएर मात्र आयोगबाट निस्कन्छु।’
कार्कीले प्रदेश र स्थानीय तहको चुनाव एकैपटक गर्न नमिल्ने बताए। ती दुई तहको चुनाव एकै पटक गर्न कानुनले नदिने उनको भनाइ छ।
उनले आयोगलाई सत्ताको छायाँ बन्न नदिने प्रतिबद्धता जनाए। ‘आयोग सत्ताको छायाँमा नपरोस् भन्ने व्यवस्था हामीले संविधानमा नै गरेका छौं। स्वतन्त्ररुपमा काम गर्न नसके आयोगमा बस्नुको औचित्य रहँदैन,’ उनले भने।
कार्कीले चुनावलाई कम खर्चिलो बनाउने उपाय अवलम्बन गर्ने पनि बताए। ‘मनी र मसल प्रयोग गरेर चुनाव जित्न दिइँदैन। कानुन अनुसार कारबाही हुन्छ,’ उनले भने, ‘आयोगलेरेफ्रीको भूमिका नै निर्वाह गर्ने हो। खेलाडी हुने होइन। कसैले गरेको भए त्यो राम्रो भएन।’
उनले निर्वाचनमा भाग नलिने दललाई खारेज गर्ने व्यवस्था कानुनमा नै रहेको भन्दै खारेज नगर्ने हो त्यस्तो कानुन किन बनाएको भनेर प्रतिप्रश्न गरे।










