काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश सभा दल नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका छन्।
एमाले र नेकपाबीच भएको सहमति अनुसार शाही मुख्यमन्त्री बनेका हुन्। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार साँझ शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका छन्। शाहीले मंगलबार अपरान्ह ५ बजे प्रदेश प्रमुख जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। शाही २०७९ को निर्वाचनमा मुगु ख बाट निर्वाचित भएका थिए।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी मनमाया काउचाका अनुसार नवनियुक्त मुख्यमन्त्री शाहीले बुधबार शपथ लिने तय भएको छ। एमाले र (नेकपा)बीच प्रदेशमा सत्ता समीकरणका लागि साउन ९ गते सहमति भएको थियो।
कर्णालीमा यसअघि एमालेका यमलाल कँडेल मुख्यमन्त्री थिए। कँडेल २०८० चैत २८ गते मुख्यमन्त्री नियुक्त हुनुअघि त्यो पदमा तत्कालीन माओवादी एवं हालको नेकपाका राजकुमार शर्मा मुख्यमन्त्री थिए।










