एसबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना समातिए, नेटवर्कबाट ‘ग्रुप लिभ’ धमाधम



बिजमाण्डू
२०८३ साउन १२ गते १६:०४ | Jul 28, 2026
एसबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना समातिए, नेटवर्कबाट ‘ग्रुप लिभ’ धमाधम


काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिजको प्रथम सत्रको प्रश्नपत्र परीक्षा बाहिरिएको घटनामा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ।

Tata
GBIME

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रौतहट राजदेवी-४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराका ३१ वर्षीय अब्दुल सनि हकिमलाई नियन्त्रणमा लिएको हो। यसअघि ब्युरोले आइतबार कैलालीको घोडाघोडी घर भइ भक्तपुर बस्ने ३३ वर्षीय संदीप सिंहलाई नियन्त्रणमा लिएको थियो।

गत शुक्रबार भएको ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जाल ह्वाटसएप ग्रुपमार्फत बाहिरिएको थियो। जसमा उत्तरसहितको प्रश्नपत्र हालेको अभियोगमा सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। उनले काठमाडौंको कोटेश्वरमा रहेको हिमालयन कलेज र केएमसी कलेजमा पढाउने गरेको खुलेको छ।

ग्रुप ‘एमबीएस फर्स्ट सेम, सेक्सन सी’ नाममा तयार पारिएको थियो। एक हजार २३ जना रहेको समूहमा प्रश्नपत्र बाहिरिएपछि अहिले प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीले अनुसन्धान थालेपछि उक्त नेटवर्कमा भएकाहरुले धमाधम ‘ग्रुप लिभ’ गर्न थालेका छन्। झन्डै ५ सय भन्दा बढीले ग्रुप छाडेका छन्।