नेपालमा ‘फल्प’ बनेको प्लास्टिकको नोट भारतमा चलनचल्तीमा आउने, १० र २० को छाप्ने तयारी



बिजमाण्डू
२०८३ साउन ११ गते २२:०३ | Jul 27, 2026
नेपालमा ‘फल्प’ बनेको प्लास्टिकको नोट भारतमा चलनचल्तीमा आउने, १० र २० को छाप्ने तयारी
Photo : Gemini


काठमाडौं । पानीमा भिज्दा नगल्ने, सजिलै नच्यातिने र लामो समयसम्म टिकिरहने ’प्लास्टिक नोट’ अब छिट्टै भारतीय बजारमा प्रयोगमा आउने भएको छ। राजतन्त्र हुँदा नेपालमा प्रयोगमा आएर ‘फल्प’ भएको पोलिमर नोट भारतीय बजारमा चल्ने भएको हो।

Tata
GBIME

भारतीय रिजर्भ बैंकले १० रुपैयाँ र २० रुपैयाँ दरका पोलिमर नोटको पाइलट प्रोजेक्ट परीक्षण सुरु गर्न लागेको हो। भारत सरकारले यस परीक्षणका लागि स्वीकृति दिइसकेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

लोकसभामा भारतका अर्थ राज्यमन्त्री पंकज चौधरीले भारतीय केन्द्रीय बैंकले १०/१० करोड थानका दरले कूल २०० करोड थान पोलिमर नोट छाप्ने तयारी गरेको जानकारी दिएका हुन्।

हाल भारतमा कागजको नोट चलनचल्तीमा छ। अब विशेष किसिमको पोलिमर सबस्ट्रेट प्रयोग गरेर बनाइने प्लास्टिक नोटहरु प्रयोगमा ल्याइने छ।

यी नोटहरू छाम्दा सामान्य नोटजस्तै हल्का हुने भनिएको छ। त्यस्तै, यी नोटहरू पानी, धुलो र फोहोरले सजिलै नबिग्रिने दाबी गरिएको छ।

पोलिमर सिटमा बन्ने १० र २० को नयाँ नोटमा अत्याधुनिक सुरक्षा विशेषता जोड्न सकिने भएकाले नक्कली नोट बनाउन असम्भव हुने पनि भनिएको छ।

त्यस्तै, छपाई खर्चमा पनि भारी बचत हुने भारतको अनुमान छ। कागजी नोट चाँडै पुराना र च्यातिने हुन्छ। भारतीय केन्द्रीय बैंकले आर्थिक वर्ष २०२४/२५ मा नोट छपाईमा मात्रै ६ हजार ३७२.८ करोड भारतीय रुपैयाँ खर्च गरेको थियो।

पोलिमर नोट लामो समय टिक्ने भएकाले पटक-पटक छापिरहनुपर्ने खर्चमा ठूलो कटौती हुने विश्वास रिजर्भ बैंकको छ।

पोलिमर नोट आउँदैमा हाल चलिरहेका १० र २० का कागजी नोटहरू भने तत्काल बन्द हुने छैनन्। सरकार र केन्द्रीय बैंकले दुवै थरीका नोट बजारमा चल्ने बताएका छन्। चरणबद्ध रूपमा पोलिमर नोट थप्दै लग्ने र नयाँ नोट पूर्ण रूपमा स्थापित नभएसम्म पुराना कागजी नोट पनि बजारमा चलिरहने जनाइएको छ।

हाल यसको लागि ग्लोबल टेन्डर प्रक्रिया अघि बढेको छ। भारतीय रिजर्भ बैंकको नोट छपाई एकाइले पोलिमर सिट आपूर्तिका लागि विश्वभरका उत्पादकहरूबाट प्रस्ताव ’एक्सप्रेसन अफ इन्टरेस्ट’ पनि आह्वान गरिसकेको छ।

टेन्डर प्रक्रिया पूरा भएर कच्चा पदार्थ उपलब्ध भएपछि छपाई सुरु हुनेछ। परीक्षण सफल भएमा भविष्यमा अन्य ठूला दरका नोट पनि पोलिमरमा छाप्ने योजना भारत सरकारको छ।

भारतले सन् २०१२ नै नोटको आयु बढाउने भन्दै पोलिमर नोट ल्याउने प्रयास गरेको थियो। तर विभिन्न प्राविधिक कारणले रोकिएको थियो।

अस्ट्रेलिया, क्यानडा, बेलायत र न्युजिल्यान्डलगायत विश्वका ६० भन्दा बढी देशहरूमा पोलिमर नोटहरू सफलतापूर्वक प्रयोगमा आइसकेका छन्। तर, नेपालमा भने पोलिमर नोट टिक्न सकेन।

नेपालमा ज्ञानेन्द्र शाह राजा हुँदा १० रुपैयाँको यस्तै नोट चलनमा ल्याइएको थियो। शाहको राज्यभिषेकलाई मौका पारेर २०५९ आश्विनदेखि यो नोट नेपाली बजारमा ल्याइएको थियो। सुरुमा यी नोटहरु पानीले नभिज्ने, नच्यातिने र रंग नजाने भनिएको थियो। तर नेपालमा प्रयोगमा ल्याइएका प्यालस्टिकका ती नोटको गुणस्तर न्यून थियो। सो प्लास्टिक सजिलै च्यातिने, रंग खुइलिने र बिग्रिने हुँदा नोट धेरै समय चलेनन्।