काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो।
घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरि २४ जना घाइते भएका छन्। उक्त घटनामा गोली चलाउनेपर्ने अवस्था किन आयो भन्दै थापाले सरकारसँग प्रश्नसमेत गरेका छन्।
‘सरकारसँग प्रश्न छ- नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो? सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपर्थ्यो,’ सभापति थापाले भनेका छन्।
थापाले घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानविन गरी सत्यतथ्य सार्वजनिक गर्नसमेत माग गरेका छन्। उनले कुनै पनि अफवाहमा नलाग्नसमेत सबैसँग आग्रह गरेका छन्।
‘कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप प्रतिकुल हुन नदिन तथा सामाजिक सदभाव कायम राख्नको लागि योगदान गर्न सम्पूर्ण स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज, राजनीतिक दललगायत सवैमा हार्दिक अपील गर्दछु,’ थापाले भनेका छन्।










