ललितपुरमा बढेन जग्गाको सरकारी भाउ, सबैभन्दा सस्तो मूल्य प्रति आना ५० हजार



बिजमाण्डू
२०८३ साउन ११ गते १८:५२ | Jul 27, 2026
ललितपुरमा बढेन जग्गाको सरकारी भाउ, सबैभन्दा सस्तो मूल्य प्रति आना ५० हजार
ललितपुरको झरुवारासी क्षेत्र। फाइल फोटो


काठमाडौं। काठमाडौंका स्थानीय तहले जग्गाको सरकारी थैली बढाउँदा ललितपुरमा भने मूल्य यथावत राखिएको छ।

Tata
GBIME

लगनखेल भूमि प्रशासन कार्यालयका अनुसार ललितपुरका स्थानीय तहले चालु आर्थिक वर्ष २०८३/८४ को न्यूनतम मूल्यांकन अघिल्लो आर्थिक वर्षकै राखिका हुन्।

कुपण्डोलबाट सातदोबाटोसम्म मुल सडकसँग जोडिएका जग्गाको मूल्य प्रति आना ३९ लाख ५० हजार रुपैयाँ छ। त्यसैगरी चक्रपथभित्रका मुल पिच सडकसँग जोडिएका जग्गाको न्यूनतम थैली पनि ३९ लाख ५० हजार रुपैयाँ नै राखिएको छ।

ललिपुर महानगरपालिका वडा-३ मा पर्ने चक्रपथ बाहिरका पिच सडकसँग जोडिएका जग्गाको मूल्य १४ लाख ५० हजार यथावत राखिएको छ। भैंसीपाटी क्षेत्रको मूल्य प्रति आना २८ लाखसम्म कायमै छ।

महालक्ष्मीस्थान नगरपालिका, गोदावरी नगरपालिका तथा कोन्ज्योसोम र बागमती गाउँपालिका पनि मूल्य यथावतै रहेको भूमि प्रशासन कार्यालयले जनाएको छ। ललितपुरमा सबैभन्दा सस्तो जग्गा इकुडोलको पाखा क्षेत्रमा प्रति आना ५० हजार रुपैयाँ तोकिएको छ।

यसपालि भक्तपुरका स्थानीय तहले पनि जग्गाको सरकारी थैली बढाएका छैनन्। काठमाडौंका स्थानीय तहले भने ठाउँ अनुसार ५ देखि १० प्रतिशतसम्म बढाएका छन्।