बिजुलीको असारको बिलमा भ्याट नलाग्ने, विभागले भन्यो- साउन १ देखि डिमान्ड चार्जमा पनि लाग्छ



बिजमाण्डू
२०८३ साउन ११ गते १७:५४ | Jul 27, 2026
बिजुलीको असारको बिलमा भ्याट नलाग्ने, विभागले भन्यो- साउन १ देखि डिमान्ड चार्जमा पनि लाग्छ


काठमाडौं। असारमा उपभोग गरेको बिजुलीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने भएको छ।

Tata
GBIME

आन्तरिक राजस्व विभागका अनुसार गत आवसम्म आधारभूत आवश्यकताका वस्तुमा बिजुली समावेश भएको हुँदा त्यो अवधिमा खपत भएको बिजुलीमा भ्याट आकर्षित हुँदैन।

‘आधारभूत आवश्यकताका वस्तुमा विद्युत शक्ति (२७१६.००.००) समावेश भएको हुँदा सो अवधिको त्यस्तो सेवा खपतमा मूल्य अभिवृद्धि कर छुट हुने भएकाले मूल्य अभिवृद्धि कर आकर्षित हुने देखिँदैन,’ विभागले भनेको छ।

सरकारले चालु आर्थिक वर्षदेखि अन्तिम उपभोक्तालाई ५ प्रतिशत तथा व्यावसायिक प्रतिष्ठानलाई १३ प्रतिशतका दरले भ्याट लगाएको छ।

आर्थिक ऐनमा साउन १ गतेदेखि बिजुली सेवामा भ्याट प्रारम्भ हुने व्यवस्था उल्लेख भएकाले सोअघिको खपतमा नलाग्ने विभागले प्रष्ट पारेको हो।

नेपाल विद्युत् प्राधिकरणले असारकै खपतको बिल साउनमा जारी गर्दा भ्याट जोडेको थियो। त्यसको विरोध भएपछि प्राधिकरणले विभागको राय माग गरेको थियो।

सरकारले ५० युनिटभन्दा बढीको घरायसी उपभोगमा भ्याट लाग्ने व्यवस्था गरेको छ। तर न्यूनतम चार्ज वा डिमान्ड चार्जमा भ्याट तिर्नुपर्ने भएको छ। यो चार्ज प्रयोग नगरे पनि उपभोक्ताले तिर्नुपर्छ।

‘नेपाल विद्युत प्राधिकरणले लिने स्वीकृत ट्यारिफअनुसार विद्युत खपतमा न्यूनतम चार्ज वा डिमान्ड चार्ज असुल गर्ने रकम समेत विद्युत सेवाबापत् नै भएकोले संवत् २०६३ साल साउन १ गतेदेखि भएको विद्युत शक्तिको खपतमा न्यूनतम चार्ज वा डिमान्ड चार्जमा पनि मूल्य अभिवृद्धि कर आकर्षित हुने हुँदा द्विविधा नरहन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विभागले भनेको छ।