लगातार दुई हार ब्यहोरेको नेपाल नामिबियासँग आमनेसामने हुँदै, टिममा होला परिवर्तन?



बिजमाण्डू
२०८३ साउन ११ गते १२:५१ | Jul 27, 2026
लगातार दुई हार ब्यहोरेको नेपाल नामिबियासँग आमनेसामने हुँदै, टिममा होला परिवर्तन?
अभ्यासमा नेपाली खेलाडी। तस्बिर : क्यान


काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार नामिबियासँग भिड्दैछ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजका सुरुवाती दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा नामिबियािँग प्रतिस्पर्धा गर्न लागेको हो।

Tata
GBIME

नामिबियालाई हराए पनि नेपालको ‘ड्यामेज कन्ट्रोल’ मात्र हुनेछ। ८ टोली सहभागी लिग-टूमा नेपाल र नामिबिया दुबै २४ अंक बनाएर तालिकाको पाँचौं र छैटौं स्थानमा छन्। नेपाललाई हराए नामिबिया पाँचौं स्थानमा उक्लनेछ।

खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।

जारी सिरिजमा दुई खेल खेल्दा कुनै पनि नेपाली ब्याटरले अर्धशतक बनाउन सकेका छैनन्। जिम्मेवार ब्याटर नै गैरजिम्मेवार सर्ट खेल्दै पभेलियन फर्कँदा नेपालले झिनो लक्ष्यमात्र प्रस्तुत गर्न सकेको छ। दुबै खेलमा नेपालले १५७ रनमात्र बनाएको थियो। एकदिवसीय क्रिकेटमा यो अत्यन्तै न्यून हो।

दुबै खेलमा टस फ्याक्टर पनि महत्वपूर्ण रह्यो। दुबै खेलमा टस हारेर नेपालले ब्याटिङको निम्ता पाएको थियो। आजको खेलमा टस जित्न सके नेपाललाई राहत मिल्न सक्छ।

नेपालले दोस्रो खेलमा एउटा परिवर्तन गरेको थियो। पेसर नन्दन यादवलाई स्पिनर ललित राजवंशीले प्रतिस्थापित गरेका थिए। नन्दन चोटका कारण बाहिरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

आजको खेलमा शीर्षक्रमको ब्याटिङमा परिवर्तनको बलियो सम्भावना छ। कुशल भुर्तेल, इशान पाण्डे या आशिफ शेखको स्थान अर्जुन कुमाल या विनोद भण्डारी अथवा दुबैले लिन सक्छन्। भीम सार्की पनि शीर्षक्रमको दाबेदार छन्।