काठमाडौं। अनलाइन प्रविधिको प्रयोग गरेर हुने ठगीका घटना लगातार वृद्धि हुँदा रोकथाम गर्न र ठग पक्रन प्रहरीलाई हम्मे परेको छ।
अनलाइन सपिङ, पीटीई परीक्षा लगायत विभिन्न बहानामा मानिसहरू ठगिएपछि जाहेरी दिन आउने गरेको प्रहरीले जनाएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा काठमाडौंमा प्रहरीमा आएका उजुरीमध्ये २१ प्रतिशत अनलाइन ठगी सम्बन्धी छन्। एक वर्षमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कुल ११ हजार ७८ उजुरी दर्ता हुँदा अनलाइन ठगीका मात्रै २ हजार ३ सय २५ वटा उजुरी दर्ता भएका छन्।
अनलाइन ठगीमा पनि अनलाइनबाट हुने सपिङमा सबैभन्दा धेरै घटना देखिएको छ। आकर्षक विज्ञापन, फ्री वा न्यूनतम रकममा घरैमा डेलिभरी, सामान रोज्यो, डिजिटल पेमेन्ट गर्यो। तर, न आफूले अर्डर गरेको सामान आउँछ, न त पैसा फिर्ता!
२ हजार ३ सय अनलाइन सम्बन्धी ठगी दर्ता हुँदा सपिङका नाममा मात्र १ हजार ३२ वटा मुद्दा दायर भएका छन्। दायत कुल मुद्दामा १५ करोड ३३ लाख ९४ हजार रुपैयाँ ठगी भएको देखिन्छ।
‘अनलाइनबाट सपिङदेखि अन्य कुरामा हुने ठगी हाम्रो अनुसन्धानमा चुनौतीपूर्ण देखियो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराइले भने।
गएको आर्थिक वर्षमा जेनजी आन्दोलनका कारण प्रहरीका अधिकांश भवन जलाएर नष्ट गरियो। जसको कारणले पनि केही समय प्रहरी फिल्डमा उत्रिन सकेन। यसले केही दर्ता हुने मुद्दाको सङ्ख्या घट्यो। नत्र अनलाइनबाट हुने ठगीको उजुरी झन् बढ्ने प्रहरीको दाबी छ।
अनलाइनबाट सामान अर्डर गरेर रकम लिएपछि सामान नआउने, फरक सामान आउने जस्ता ठगी बढी देखिएका छन्। त्यस्तै विदेश अध्यायको लागि लिइने पीटीई परीक्षाको टोकन समेत अनलाइनबाट खरिद गर्दा ठगी हुने गरेको देखिएको छ।
त्यस्तै बैंक तथा डिजिटल ब्यालेट ह्याक र ओटीपी कोड मागेर ठगी गर्नेको सङ्ख्या पनि धेरै देखिएको छ। यस्ता घटनामा एक वर्षमा ७ सय ३७ वटा मुद्दा दायर भएका छन्।
कोठा खोजिदिने नाममा पनि रकम ठगी भएको देखिएको छ। अहिले अनलाइनमा विज्ञापन गरेर कोठा भाडामा खोज्ने चलन बढेको छ। तर प्रविधिको दुरुपयोग गरेर केही मानिसलाई ठगी गर्ने गरेको देखियो। ठगिएको भन्दै एक वर्षमा ५२ जनाले प्रहरीमा मुद्दा दायर गरेका थिए।










