हारबाट सिरिज सुरु गरेको नेपाली क्रिकेट टोली नेदरल्याण्ड्ससँग भिड्दै, किन छ चर्को दबाबमा?



बिजमाण्डू
२०८३ साउन ७ गते १२:५२ | Jul 23, 2026
हारबाट सिरिज सुरु गरेको नेपाली क्रिकेट टोली नेदरल्याण्ड्ससँग भिड्दै, किन छ चर्को दबाबमा?
नेपाली क्रिकेट टोली। फाइल फोटो क्यान


काठमाडौं। नेपाली क्रिकेट टोलीले बिहीबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्समा जारी त्रिदेशीय सिरिजमा नेपाल दोस्रो खेलमा पहिलो जितको खोजीमा मैदान उत्रन लागेको हो।

Tata
GBIME

सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो। नेपालका यसअघिका सिरिज र जर्सीसँगको अभ्यास खेलहरूमा सानदार लय देखाएका कुशल भुर्तेल, इशान पाण्डे, आरिफ शेखजस्ता खेलाडी फ्लप भइदिँदा नेपाल पहिलो खेलमै पराजित हुन पुगेको थियो।

नेदरल्याण्ड्सँगको पछिल्ला ५ खेल हेर्दा पल्ला नेपालतिरै भारी देखिन्छ। यसमा नेपालले पछिल्ला दुईसहित कुल तीन खेल जित्दा नेदरल्याण्ड्सले दुई खेल जितेको छ।

यद्यपि, यो सिरिज नेदरल्याण्ड्समै हुने भएकाले घरेलु टोलीसामू नेपाललाई सहज भने हुने छैन।

लिग-२ मा ८ टोली प्रतिस्पर्धामा रहेकोमा नेपाल हाल पाँचौँ स्थानमा छ। अब ७ खेल खेल्न मात्र बाँकी रहेको नेपाललाई शीर्ष चारमा रहँदै ग्लोबल क्वालिफायरदेखि एकदिवसीय मान्यता जोगाउनेसम्मको चर्को दबाब छ।

नेपाल पाँचौँ स्थानमा रहे पनि छैटौँ र सातौँ स्थानका नामिबिया र क्यानडाको पनि समान २४ अंक नै छ।

नेपालले लगातार खेल नजिते यही सिरिजमा उल्टै नामिबिया पनि नेपालभन्दा अघि जान सक्छ। यो सिरिजका बाँकी ३ वटै खेल जिते पनि नेपाल ३० अंक बनाएर पाँचौँ स्थानमै रहने छ।

तर, यो सिरिजमा राम्रो गरेर अर्को सिरिजमा फड्को मार्ने अवसर नेपाललाई हुनसक्छ। यद्यपि, यसका लागि पनि लगातार जित निकाल्ने दबाब भने यथावत रहनेछ।

अमेरिका ४३ अंकसहित तालिकाको शीर्षस्थानमा छ। यदि नेपालले ७ वटै खेल जितेर १४ अंक बनाए पनि दोस्रो स्थानको स्कटल्याण्डसँग अंक बराबरी त गर्न सक्नेछ तर शीर्षको अमेरिकालाई भेट्न भने सक्ने छैन।

नेपाल तेस्रो स्थानसम्म पुग्ने लक्ष्य रहेको सिरिजमा जानुअघि कप्तान रोहित पौडेलले बताएका थिए।

३२ अंकसहित तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्सलाई हराउन सके नेपालले दोहोरो फाइदा गर्न सक्छ। पहिलो नेदरल्याण्ड्सले अंक बढाउन पाउने छैन भने नेपाललाई अंक दूरी थप घटाउने अवसर मिल्नेछ।

त्यस्तै, नेदरल्याण्ड्ससँगको हारले पनि नेपाललाई दोहोरो घाटा नै दिनेछ।